शान्तिपूर्ण आन्दोलनमा उत्रिएका पहिचान पक्षधरमाथि दमन गर्ने डिएसपीबिरुद्ध कारबाहीको माग

Halesi Khabar
0 Shares

खोटाङ, ४ असोज । कोशी प्रदेशको नाममा असहमति राखेर आन्दोलनमा उत्रिएका बेला प्रहरीले दमन गरेको भन्दै प्रदेश नम्बर १ पुनः नामाङ्कन सयुक्त सङ्घर्ष समिति खोटाङले भत्र्सना गरेको छ । प्रदेशका खानेपानी, सिँचाइ, उर्जा तथा स्वास्थ्यमन्त्री तीलकुमार मेन्याङ्बोलाई बिहीबार दिक्तेलमा कालो झण्डा देखाएर बिरोध गर्नेक्रममा आन्दोलनकारीमाथि प्रहरीले धरपकड गरि निर्घात कुटपिट गरेको भन्दै सङ्घर्ष समितिले विज्ञप्तिमार्फत घोर भत्र्सना भएको जनाएको हो ।

प्रदेश नम्बर १ पुनः नामाङ्कन सयुक्त सङ्घर्ष समितिका संयोजक युगसन किरात र युवा परिचालन समितिका संयोजक निर्मल राईले विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी सन्तकुमार सुनार र जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम खड्का सम्मिलित प्रहरीले शान्तिपूर्ण आन्दोलनमा गएका आन्दोलनकारीमाथि बल प्रयोग गरेको उल्लेख छ । संयुक्त सङ्घर्ष समितिले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका आन्दोलनकारीलाई सार्वजनिकस्थलमा जबरजस्त बल प्रयोग गरी कुटपिट गर्ने डिएसपी खड्का सम्मिलित प्रहरीलाई छानबिन गरी कारबाही गर्न मागसमेत गरेको छ ।

“शान्तिपूर्ण आन्दोलन गर्न पाउने नागरिकको अधिकारमाथि जबरजस्त बल प्रयोग गरी आन्दोलनकारीलाई सार्वजनिकस्थलमा निर्धात कुटपिट गर्ने डिएसपी सम्मिलित प्रहरी जवानमाथि यथाशीघ्र छानबिन गरि कारबाहीका लागि सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ, “हाम्रो मागलाई बेवास्ता गरिए जस्तोसुकै आन्दोलनको तयारी गर्न बाध्य हुनेछौँ, त्यसबाट उत्पन्न हुने सबै परिस्थितिको जिम्मेवार स्वयम् प्रहरी र प्रमुख जिल्ला अधिकारी हुने सार्वजानिक गर्न चाहन्छौँ ।”

कोशी प्रदेश नाममा हस्ताक्षर गर्ने ८२ सांसदलाई प्रदेशभरी निषेध गर्ने कार्यक्रम रहेको अवस्थामा आन्दोलनलाई बेवास्ता गर्दै खानेपानी, सिँचाई, उर्जा तथा स्वास्थ्यमन्त्री मेन्याङ्बो जिल्ला भित्रिएकाले कालो झण्डा देखाइएको संयोजक किरातले बताउनुभएको छ । विज्ञप्तिमा पहिचानको आधारमा प्रदेशको पुनः नामाङ्कन नभएसम्म कोशीको पक्षमा हस्ताक्षर गर्ने सांसदलाई जिल्ला प्रवेश नगर्न आग्रहसमेत गरिएको छ ।

सङ्घर्ष समितिको आग्रहलाई बेवास्ता गरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जवाफदेही आफूहरु नहुने सयुक्त संघर्ष समितिले चेतावनीसमेत दिएको छ । संयुक्त सङ्घर्ष समितिले प्रहरीको कुटपिटबाट घाइते बनेका पहिचानपक्षधर युवाको स्वास्थ्य लाभको कामना गरेको छ ।

मन्त्री मेन्याङ्बो जिल्ला अस्पताल खोटाङ निरीक्षण गरेर बाहिरिने क्रममा अस्पतालको गेटमा पहिचानपक्षधर युवाले प्रर्शन गरेका थिए । कालो झण्डा प्रदर्शनका क्रममा प्रहरीले लाठी चार्ज गर्दा संयोजक किरात, किरात युवा फोर्सका संयोजक निर्मल राई, मुल सङ्घर्ष समितिका सचिवालय सदस्य सुनिल चाम्लिङ लगायत घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया