पत्रकार दमन राईलाई ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’

Halesi Khabar
0 Shares

खोटाङ, ४ असोज । नेपाल पत्रकार महासङ्घ खोटाङका निवर्तमान अध्यक्ष एवम् नेपाल वाइड डटकमका समाचार सम्पादक दमन राई ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार २०८०’बाट पुरस्कृत हुनुहुने भएको छ । प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिक उत्सवको अवसरमा असोज–६ गते प्रदान गरिने रु एक लाख दश हजार राशिको ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार २०८०’बाट पत्रकार राई पुरस्कृत हुनुहुने भएको हो ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा जन्मनुभएका पत्रकार राई खोटाङलाई कार्यक्षेत्र बनाएर करिब दुई दशकदेखि जिल्लामा पत्रकारिता पेशामा कलम चलाइ रहनुभएको छ । पूर्णपुष्टि साप्ताहिक उदयपुरबाट व्यवसायिक पत्रकारिता पेशा शुरु गर्नुभएका पत्रकार राईले खोटाङमा सञ्चालित रुपाकोट सामुदायिक रेडियो, खोटाङ खबर साप्ताहिक, हिमाल खबर पत्रिका, नागरिक दैनिक, ग्यालेक्सी फोरके, न्यूज कारखाना लगायत विभिन्न सञ्चारमाध्यममा काम गरिसक्नुभएको छ ।

पत्रकार राईले यसअघि पनि डेढ दर्जनबढी पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नुभएको छ ।
खोटाङ समाज नेपाल हङकङले वि.सं. २०६७ सालमा प्रदान गरेको पहिलो पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएका पत्रकार राईलाई प्रेस काउन्सिल नेपालले प्रदान गर्न लागेको यो पुरस्कार अहिलेसम्मकै सबैभन्दा ठूलो राशिको पुरस्कार हो ।

वि.सं.२०६३ सालदेखि जिल्लामा रहेर पत्रकारिता पेशामा क्रियाशील पत्रकार राई नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाको एक कार्यकाल कार्यबाहक र दुई कार्यकाल अध्यक्ष हुनुभएको थियो । खोज पत्रकारितामा समेत अब्बल मानिनुहुने पत्रकार राई निष्पक्ष, इमान्दार र पेशाप्रति कर्तव्यनिष्ठ हुनुहुन्छ ।

मोफसलमा रहेर व्यसायिक पत्रकारिता गरिरहनुभएका पत्रकार राईलाई यस वर्ष प्रेस काउन्सिल नेपालले पुरस्कृत गर्ने निर्णय गरेर उचित मूल्याङ्कन गरेको नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्रीले बताउनुभएको छ । वि.सं. २०५९ सालमा च्यास्मिटार मावि च्यास्मिटारबाट एसएलसी उत्तीर्ण गर्नुभएका पत्रकार राई हाल दिक्तेल बहुमुखी क्याम्पस, दिक्तेलमा समाजशास्त्र एमए अध्ययनरत विद्यार्थीसमेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया