खोटाङ, ६ असोज । बिरोध प्रदर्शनमा उत्रिएका पहिचान पक्षधर युवामाथि भएको प्रहरी दमनको घटनाप्रति सत्ता गठबन्धनमा आवद्ध खोटाङका चार राजनीतिक दलले ध्यानाकर्षण भएको जनाएका छन् । कोशी प्रदेशका खानेपानी, सिँचाइ, उर्जा तथा स्वास्थ्यमन्त्री तीलकुमार मेन्याङ्बोलाई पहिचान पक्षधर युवाले बिहीबार दिक्तेलमा कालो झण्डा देखाउने क्रममा भएको प्रहरी दमनको घटनाप्रति नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)ले संयुक्त विज्ञप्ति जारी गर्दै ध्यानाकार्षण भएको जनाएको हो ।
जिल्लाको समग्र शान्तिसुरक्षाको जिम्मा लिएर खोटाङ आएको दुई दिन नबित्दै जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम खड्काको नेतृत्वमा पहिचान पक्षधर युवामाथि गरिएको दमनले जिल्लामा शान्तिसुरक्षा कायम हुने कुरामा थप अविस्वास सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ । “जिल्लाको समग्र शान्तिसुरक्षाको जिम्मा लिएका जिम्मेवार व्यक्ति स्वयम्ले निःशस्त्र नागरिकमाथि लछारपछार गर्ने तथा लाठीचार्ज गर्ने कार्य निन्दनीय छ । यस्ता किसिमको हर्कतले जिल्लामा शान्तिसुरक्षा कायम हुने कुरामा थप अविस्वास सिर्जना भएको छ”, संयुक्त विज्ञप्तिमा भनिएको छ, “जिल्लामा हुने सबै किसिमको कार्यक्रमको शान्ति सुरक्षाको व्यवस्थापन गर्ने निकायका प्रमुख भएर आफै अमर्यादित हिसाबले प्रस्तुत हुने सुरक्षाकर्मीका प्रमुखले सुरक्षाको प्रत्याभूति गराउन नसक्नु आफैमा दुःखद विषय हो ।”
प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारकै अगाडि भएको प्रहरी दमनमा प्रदेश नं. १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समिति खोटाङका संयोजक युगसन किराँत, किराँत युवा फोर्स खोटाङका संयोजक निर्मल राई, मुल सङ्घर्ष समिति खोटाङका सचिवालय सदस्य सुनिल चाम्लिङ लगायतका युवा घाइते भएका छन् । आफूहरुको शान्तिपूर्ण आन्दोलनमा डिएसपी खड्का आफैले नेतृत्व गरेको प्रहरी टोलीले हस्तक्षेप गरेको भन्दै उनीहरुले प्रहरी प्रशासनबिरुद्ध नाराबाजीसमेत गरेका थिए ।
सत्तारुढ चार राजनीतिक दलले जिल्लामा आन्दोलनरत पहिचान पक्षधर युवालाई आगामी दिनमा संयमता अपनाउन पनि आग्रह गरेका छन् । विज्ञप्तिमा नेपाली काँग्रेसका सभापति विष्णुकुमार राई, नेकपा (माओवादी केन्द्र)का संयोजक दीपक पाण्डे ‘आकाश’, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षक पिके खम्बु र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष जलशेर राईले हस्ताक्षर गर्नुभएको छ ।
दिक्तेलस्थित जिल्ला अस्पताल खोटाङको प्रवेशद्धार नजिकै भएको त्यस घटनालाई लिएर संयुक्त सङ्घर्ष समिति खोटाङले शुक्रबार जिल्ला प्रशासन कार्यालय खोटाङमा ज्ञापनपत्रसमेत बुझाएको छ । शान्तिपूर्ण आन्दोलनमा उत्रिएका आन्दोलनकारीलाई प्रहरीले सार्वजनिकस्थलमा जबरजस्त बल प्रयोग गरी कुटपिट तथा लछारपछारसमेत गरेकाले घटनामा संलग्न डिएसपी खड्कासहित जवानलाई कानूनी कारबाही गर्न माग गर्दै सिडिओ सुनारलाई ज्ञापनपत्र बुझाइएको संयुक्त सङ्घर्ष समितिले जनाएको छ ।
मन्त्री मेन्याङ्बो जिल्ला अस्पताल खोटाङको निर्माणाधीन भवन निरीक्षण गरेर बाहिरिने क्रममा अस्पतालको प्रवेशद्धार अगाडि पहिचान पक्षधर युवाले प्रर्शन गरेका थिए । कोशी प्रदेश नाममा हस्ताक्षर गर्ने ८२ सांसदलाई प्रदेशभरी निषेध गर्ने कार्यक्रम रहेको अवस्थामा आन्दोलनलाई बेवास्ता गर्दै मन्त्री मेन्याङ्बो जिल्ला भित्रिएकाले कालो झण्डा देखाइएको संयोजक किराँतले बताउनुभएको छ ।
ज्ञापनपत्रमा पहिचानको आधारमा प्रदेशको पुनः नामाङ्कन नभएसम्म कोशीको पक्षमा हस्ताक्षर गर्ने सांसदलाई जिल्ला प्रवेश नगर्न आग्रह गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले भने जिल्लामा पहिचानको नाममा एमालेलाई लक्षित गरेर पहिचान पक्षधर युवाले आन्दोलन गरिरहेको आरोप लगाउँदै आएको छ ।