गोरु काटेर सामुहिक भोज खाएको आरोपमा एक युवक पक्राउ

Halesi Khabar
0 Shares

खोटाङ, ९ असोज । गोरु काटेर सामुहिक भोज खाएको आरोपमा जिल्ला प्रहरी कार्यालय खोटाङले आज (मङ्गलबार) एक युवकलाई पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा सोमबार दिउँसो गोरु काटेर सामुहिक भोज खाएको आरोपमा रावाबेँसी गाउँपालिका–६ हौँचुरका २७ वर्षीय बादल गुरुङलाई प्रहरीले मङ्गलबार घरैबाट पक्राउ गरेको हो ।

बादल गुरुङ लगायतका स्थानीयले गोरु काटेर सामुहिक भोज खाएको भन्ने सूचनाको आधारमा अनुसन्धानका लागि गुरुङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टीकाराज बरालले जानकारी दिनुभयो । “प्रहरी चौकी जालपबाट खटिएर गएका टोलीले नियन्त्रणमा लिएका गुरुङलाई हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको छ । भर्खरै नियन्त्रणमा लिइएकाले घटनाको बारेमा केही खुलेको छैन”, उहाँले भन्नुभयो, “गोरु काटेर खाएको पुष्टि भएको खण्डमा कानून बमोजिम कारबाही हुन्छ । अहिले यसै भन्न सकिने अवस्था छैन ।”

मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका कार्यकर्ताले सोमबार साँस्कृतिक क्रान्ति भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित मसानेडाँडामा गोरु काटेर सामुहिक भोज खाएको भिडियो र तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक भएको थियो । साँस्कृतिक क्रान्तिको नाममा मुलबासी न्यूज नामक सामाजिक सञ्जाल फेसबुकमाबाट गोरु काटेर सामुहिक भोज खाएको भिडियो र तस्वीर सार्वजनिक भएपछि जिल्लामा पक्ष र विपक्षमा बहस शुरु भएको छ ।

मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका कार्यकर्ताले यसअघि पनि झापा लगायत अन्य विभिन्न जिल्लामा गोरु काटेर सामुहिक भोज गरेको उक्त भिडियोमा बताइएको छ । मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीले साँस्कृतिक क्रान्तिको रुपमा गोरु काटेर खाने अभियान चलाउने भनेर यसअघि नै घोषणा गरेका थिए ।

गोरु÷गाई काटेर खाएको आरोपमा राज्यले धेरै मानिसलाई पक्राउ गरी कारबाही गर्ने कार्य तीव्र पारेपछि सोको प्रतिरोधमा गोरु काटेर सामुहिक रुपमा भोज खाने अभियान चलाइएको मङ्गोलका कार्यकर्ताले बताउँदै आएका छन् । गत महिना धरानमा साँस्कृतिक अभियान्ताहरुले गोरु काटेर सामुहिक भोज गरेका थिए ।

उता, मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीका खोटाङ इन्चार्ज टंकबहादुर मगरले उक्त घटनामा आफूहरुको संलग्नता नरहेको बताउनुभएको छ । “जीवन मङ्गोल लगायतका साथीहरुले हाम्रो पार्टीको नाम लिएर विभिन्न गतिविधि गरिरहेका छन् । यसले हाम्रो पार्टी मङ्गोल नेसनल अर्गनाइजेसनको समेत बदनाम भएको छ”, उहाँले भन्नुभयो, “हामी लोकतन्त्रलाई मान्ने भनेर निर्वाचनमा समेत सहभागी भएका हौँ । साँस्कृतिक क्रान्ति गर्नुपर्छ भन्ने हाम्रो पार्टीको नीति छ । तर, क्रान्तिको नाममा गोरु नै काट्नुपर्छ भन्ने हाम्रो पार्टीको नीति होइन र छैन पनि । अहिले खोटाङमा भएको सामुहिक भोजको घटनामा हाम्रा कार्यकर्ताहरु कोही पनि सहभागी छैनन् ।”

समाचार स्रोतका अनुसार निर्वाचनताका लोकतन्त्र र संविधानसमेत नमान्ने भन्दै मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट बाहिरिएका समूहले साँस्कृतिक क्रान्तिको नाममा गोरु काटेर भोज खाने अभियान चलाएको बुझिएको छ । सो समूहले पूर्वी नेपालका विभिन्न ठाउँमा साँस्कृति क्रान्ति भन्दै अराजक गतिविधि गरिरहेको प्रहरीले जनाएको छ ।

डा. गोपाल गुरुङ नेतृत्वको मङ्गोल नेसनल अर्गनाइजेसन पार्टी भने, वि.सं. २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा सहभागी भएको थियो । गुरुङ नेतृत्वको पार्टीले खोटाङमा गत वर्ष (२०७९) सम्पन्न स्थानीय तह तथा सङ्घ र प्रदेशको निर्वाचनमा समेत उम्मेदवारी दिएको थियो ।

तपाईको प्रतिक्रिया