खोटाङ, १६ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश समितिको उपसचिवमा खोटाङका नेता देवान राई निर्वाचित हुनुभएको छ । बिराटनगरमा सम्पन्न एमालेको प्रथम प्रदेश अधिवेशन अन्तरगत भएको निर्वाचन परिणाम अनुसार राई ६१० मतसहित उपसचिवमा विजयी हुनुभएको हो ।
गएराति घोषित मत परिणाम अनुसार राई २१३ मतको मतान्तरमा विजयी भएको हुनुभएको निर्वाचन मण्डलले जनाएको छ । प्रदेश अध्यक्षका उम्मेदवार घनश्याम खतिवडाको टिमबाट उपसचिवमा उम्मेदवारी दिनुभएको थियो ।
उपसचिवमा राईसँगै झापाकी जलवर्षा राजवंशी पनि विजयी हुनुभएको जनाइएको छ । वि.सं. २०४६ देखि सक्रिया राजनीतिमा रहनुभएका राई एमाले प्रदेश समिति सदस्य एवम् स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
यस्तै, खोटाङका ओमप्रकाश घिमिरे लेखा आयोगको सचिवमा निर्विरोध निर्वाचित हुनुभएको छ भने प्रदेश समिति सदस्यमा खडेन्द्र राई, विणादेवी राई, चर्चबहादुर विश्वकर्मा, कमल बुढाथोकी, प्रभातबिक्रम कटवाल, राजन ढकाल, सुनिल राई, दिलकुमारी राई र पुष्पकला भुजेल निर्विरोध निर्वाचित भएका छन् ।
एमाले कोशी प्रदेश अध्यक्षमा विनोद ढकाललाई ८२ मतले पछि पार्दै घनश्याम खतिवडा विजयी हुनुभएको छ । खतिवडाले ५१२ मत प्राप्त गर्दा ढकालले ४३० मत प्राप्त गर्नुभएको जनाइएको छ ।