दिक्तेलमा आज दिउँसो २:२० बजेबाट ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’ शुरु हुँदै

Halesi Khabar
0 Shares

खोटाङ, १७ असोज । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आज (बुधबार)बाट ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ शुरु हुँदै छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले असोज–१७ गतेदेखि २१ गतेसम्म हुने मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको हो ।

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनीमा नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभीया, लिथुआनीया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनाम लगायत १४ देशका ४० जना ख्यातिप्राप्त चित्रकारको सहभागिता रहने नगरपालिकाले जनाएको छ । नगरपालिकाको धार्मिक तथा पर्यटकीयस्थलहरुमा आयोजना गरिने पाँच दिने चित्रकला कार्यशाला तथा कला प्रदर्शनीमा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

लाइभ चित्रकला कार्यशाला एवम् कला प्रदर्शनी कार्यक्रम अन्तरगत स्वदेश तथा विदेशका चित्रकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत जिल्लाका अन्य महत्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “लाइभ चित्रकला कार्यशाला एवम् प्रदर्शनी कार्यक्रमका लागि नेपालसहित विदेशी चित्रकारहरु काठमाडौँबाट हिँडिसक्नुभएको छ । यो अवधिमा स्वदेश तथा विदेशका चित्रकारले करिब १०० को हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्नेछन्”, उहाँले भन्नुभयो, “चित्रकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज–२० गते दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा चित्रकला प्रदर्शनीसहित स्थानीय परिकारको स्टल, साँस्कृतिक झाँकी, नृत्य प्रदर्शन लगायतका कार्यक्रम गर्ने तयारी गरिएको छ । यसले नगरको मात्र नभइ जिल्लाकै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।”

चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रममा आउने चित्रकार, अथिति लगायतलाई स्वागत गर्न दिक्तेल बजारदेखि महुरेगढीसम्मका विभिन्न ठाउँमा स्वागतद्धार तयार पारिएको छ भने बजार तथा सडक सरसफाइ गरेर सजाइएका छन् । महुरेगढीमा नेपाली सेनाको एक टुकडीले नृत्यमार्फत स्वागत गरेपछि चित्रकार तथा अथितिलाई बजार परिक्रमा गराइने आयोजकले जनाएको छ ।

चित्रकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही महिनापछि काठमाडौँ आर्ट ग्यालरीमा लगेर प्रदर्शनीको योजना बनाइएको नगर प्रमुख भट्टराईले जानकारी दिनुभयो । खोटाङको कला, सँस्कृति र पर्यटनको प्रवद्र्धनका लागि दशवटै स्थानीय तहमा भएका पाखा, पखेरा, जङ्गल, खोल्साखाल्सी, खोँच, लेकबेँसीका साथै प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलिको सुन्दर पक्षहरुको प्रचारका लागि लाइभ चित्रकला तथा प्रदर्शनी आयोजना गरिएको हो ।

लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन र ती स्थानको महत्व, सँस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा टेवा पु¥याउने दाबी गरिएको छ । चित्रकला कार्यशाला एवम् प्रदर्शनीका अवधिमा तयार पारिएका क्यानभासलाई सङ्ग्रहालय बनाएर राखिने आयोजकले जनाएको छ ।

गत चैत–१९ गते बसेको नगर कार्यपालिकाको बैठकले प्रत्यक्ष चित्रकला कार्यशाला एवम् प्रदर्शनी गर्ने निर्णय गरेको थियो । लाइभ चित्रकला कार्यशाला एवम् कला प्रदर्शनीका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वटै वडाबाट प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलिको परिचय र पर्यटकीय महत्वसहितका तस्वीरहरु प्राथमिकीकरण एवम् छनोट गरिएको छ ।

यस्तै, जिल्लाका अन्य नौँ स्थानीय तहबाट प्राथमिकीकरण गरेर पठाइएका तस्वीरहरुसमेत प्रत्यक्ष चित्रकलाका आकर्षण हुने जानकारी दिइएको छ । नगरपालिकाको प्रमुख प्रवेशद्धार महुरेगढीबाट शुरु भएर विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रमको पहिलो दिन आज (बुधबार) दिउँसो २ः२० बजेबाट बजार परिक्रमा तथा विदेशी चित्रकारहरुलाई साँस्कृतिक झाँकीसहित स्वागत गरिने कार्यतालिका छ ।

नगरपालिकाको रु १८ लाख खर्चमा सञ्चालन हुने कार्यक्रममा राई इज किङ उपाधिप्राप्त गायक राजेश पायल राईसमेत आउनुहुने आयोजकले जनाएको छ । चर्चित गायक राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सद्भावना दूत पनि हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया