खोटाङ, १९ असोज । ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी–२०८०’ कार्यक्रममा सहभागी हुन खोटाङ आएका १४ देशका ख्यातिप्राप्त चित्रकारहरु स्थानीय कला तथा सँस्कृति अवलोकन गरिरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँले आयोजना गरेको नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभीया, लिथुआनीया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनाम चित्रकार खोटाङ आएका छन् ।
स्वदेश तथा विदेशका चित्रकार आउने भएपछि बिहीबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका स्थानीयले दैनिक जनजीवनमा प्रयोग भइरहेका पुराना घरेलु सामग्रीलाई प्रदर्शनीमा राखेका थिए । चित्रकारहरुलाई अवलोकन गराउन ध्वाँसो लागेका हर्पे, ठेका, दाविलो, डोको, नाङलो, ओख्ली, लोहोरो, जाल, ढडिया, फुर्लुङ, मुढा, कोक्रो, कुचो, डोको, थुन्चे, तोलङ, ओख्ली, नाङ्लो, दाप, मान्द्रो, फिपी, घुर्रा, मदानी, ठेका, हर्पे, काठे गिलास, हलो, जुवा, हल्लुड, सोईला, कुटो, कोदालो, फिर्के, दाबिलो, खरेटो, चिम्टा, पन्यु, हँसिया, कचिया, सिलौटा, लोहोरो, कर्द, काठको चम्चा लगायतका घरायसी सामग्रीहरुको नाम लेखेर पङ्क्तिवद्ध मिलाएर एउटा कोठामा राखिएको थियो ।
स्थानीय इमान राईको अगुवाइमा विदेशी पहुनालाई नेपाली जनजीवनको बारेमा जानकारी दिलाउने खालका सामग्री सङ्कलन गरेर प्रदर्शनीमा राख्ने व्यवस्था मिलाइएको थियो । यही असोज १७ गतेदेखि असोज २१ गतेसम्म हुने चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनीका लागि दिक्तेल आइपुगेका २० जना विदेशी र १७ जना स्वदेशी चित्रकारलाई बिहीबार जापला पु¥याइएको हो ।
स्वदेशी तथा विदेशी चित्रकारले पुराना घरेलु सामग्री, स्थानीय कला तथा सँस्कृतिलाई चाख मानेर अवलोकन गरेको वडाध्यक्ष दानबहादुर राईले बताउनुभयो । स्वदेसी तथा विदेशी चित्रकारलाई जालपामा किराँत समुदायको साकेला, नेवार समुदायको लाखे, खसआर्य समुदायको सँगिनी र मारुनी नाचसमेत देखाइएको थियो ।
चित्रकारहरुलाई जालपा माध्यमिक विद्यालय जालपाका छात्र÷छात्राले नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । स्वदेशी तथा विदेशी चित्रकारहरुलाई जालपाको भौगोलिक, सामाजिक तथा साँस्कृतिक अवस्थाका बारेमा निवर्तमान वडाध्यक्ष विकास राईले नेपाली र अङ्ग्रेजीमा जानकारी दिनुभएको थियो ।
कार्यक्रमको कार्यतालिका अनुसार जालपा पुगेका अतिथिलाई जालपाको वडापन्छी घोषणा गरिएको लाटोकोसेरोको प्रतिमा अवलोकन गराइएको थियो । स्थानीयले आयोजना गरेको विभिन्न कार्यक्रमको रौनककाबीच जालपामा स्वदेशी तथा विदेशी चित्रकारले क्यान्भासमा लाईभ पेन्टिङ गरेर चित्र तयार पारेका थिए ।
जालपाबाट फर्किएका स्वदेशी तथा विदेशी चित्रकारलाई दिक्तेलको कर्म मन्दिरमा बालन र सँगिनी नाच अवलोकन गराइएको थियो । त्यसपछि खानीडाँडा विमानस्थल लगेर दृश्यावलोकन, नेवारी झाँकी एवम् माटोको भाँडाकुँडा निर्माण सम्बन्धी कला अवलोकन गराइएको आयोजकले जनाएको छ ।
अतिथिलाई देखाउनकै लागि गएराति दिक्तेलस्थित शुभम् फाउण्डेशनमा धामी÷झाँक्री बसाइएको थियो । पाँच दिने कार्यक्रमको कार्यतालिका अनुसार आज (शुक्रबार) दिक्तेलको विभिन्न सात ठाउँमा क्यानभास पेन्टिङ कार्यक्रमको बन्दोबस्त मिलाइएको स्थानीय कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले जानकारी दिनुभएको छ ।
चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रमका लागि जिल्लास्थित दशवटै स्थानीय तहका धार्मिक, साँस्कृतिक तथा पर्यटकीयस्थलका तस्वीरहरु सङ्कलन गरिएको छ । सोही तस्वीर तथा प्रत्यक्ष अवलोकनबाट चित्रकारले उतारेको चित्रमार्फत जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी आयोजना गरिएको हो ।
नगरपालिकाको रु १८ लाख खर्च हुने लाइभ चित्रकला कार्यशाला एवम् प्रदर्शनीको अवधिमा स्वदेश तथा विदेशका कलाकारले करिब १०० हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्ने नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन र ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने दाबी गरिएको छ ।
चित्रकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर यही असोज–२० गते दिक्तेलस्थित माटीकोरे खेलमैदानमा चित्रकला प्रदर्शनीसहित स्थानीय परिकारको स्टल, साँस्कृतिक झाँकी, नृत्य प्रदर्शन गर्ने तयारी गरिएको छ । कलाकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही महिनापछि काठमाडौँ आर्ट ग्यालरीमा लगेर प्रदर्शनीको योजना बनाइएको आयोजकले जनाएको छ ।
गत चैत–१९ गते बसेको नगर कार्यपालिकाको बैठकले प्रत्यक्ष चित्रकला कार्यशाला एवं प्रदर्शनी गर्ने निर्णय गरेको थियो । जिल्लाका छात्र÷छात्रालाई समेत सहभागी गराइने चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रम समापनमा ‘राई ईज किङ’ उपाधि प्राप्त चर्चित गायक राजशेपायल राईको समेत उपस्थिति रहने आयोजकले जनाएको छ ।