खोटाङ, १९ असोज । काठमाडौँबाट सोलुखुम्बुका लागि उडेका सातवटा हेलिकोप्टर खोटाङको लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । सोलुखुम्बुको लुक्लाका लागि उडेको हेलिकोप्टर खराब मौसमका कारण शुक्रबार बिहान लामीडाँडा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।
खराब मौसमका कारण बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सातवटा हेलिकोप्टर अवतरण गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक टीकाराम बरालले जानकारी दिनुभयो । मौसममा सुधार आएपछि सातवटै हेलिकोप्टर गन्तव्यतर्फ उडेको स्थानीय बासिन्दाले जनाएका छन् ।
टुरिष्ट (पर्यटक) बोकेको हेलिकोप्टर लुक्लामा ल्याण्ड (अवतरण) हुने अवस्था नभएपछि फर्किएर लामीडाँडामा बिश्राम लिएको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका वडाध्यक्ष वीरेन्द्र मगरले बताउनुभयो । वि.सं. २०७६ सालदेखि उडान बन्द रहेको लामीडाँडामा लुक्लामा आवतजावत गर्ने हेलिकोप्टरले आकस्मिक अवतरण गर्दै आएको छ ।
जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थलको धावनमार्ग कालोपत्र गरिएपनि अहिलेसम्म हवाईजहाज उडान तथा अवतरण भएको छैन । जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकका साथै छिमेकी जिल्ला ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीय बासिन्दालाई समेत सेवा दिने उद्देश्यले निर्माण गरिएको लामीडाँडा विमानस्थल यसअघि जिल्लाको निक्कै व्यस्त रहने विमानस्थलमा पर्दछ ।
स्थानीय बासिन्दाले कुटो तथा कोदालो प्रयोग गरेर वि.सं.२०२६ सालदेखि निर्माण शुरु गरेको लामीडाँडा विमानस्थल दुई वर्षपछि वि.सं. २०२८ सालबाट कच्ची अवस्थामै नियमित उडान सञ्चालनमा ल्याएको थियो । अठचालीस वर्षसम्म कच्ची अवस्थामा नियमित उडान हुँदै आएको लामीडाँडा विमानस्थलमा कालोपत्र गरिएसँगै उडान बन्द हुँदा स्थानीय बासिन्दा आक्रोसित बनेका छन् ।
वि.सं. २०२८ सालदेखि कच्ची अवस्थामा नियमित सञ्चालन हुँदै आएको लामीडाँडा विमानस्थलको टनिङ प्याडमा दाँया÷बाँया २८÷२८ मिटर कालोपत्र गरिएको गरिएको छ । ५२० मिटर लम्बाई र २० मिटर चौडाई रहेको विमानस्थल नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र गरिएको हो ।