खोटाङ, १९ असोज । दिक्तेल बजारमा सञ्चालित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताले बचत डुबाउने दोषीलाई कारबाही र डुबेको बचत फिर्ता गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत खोटाङमा धर्ना दिएका छन् । सहकारीको बचत अपचलनमा मुछिएका आठ जनामध्ये तीनजना पक्राउ परेपछि बचतकर्ताले आज (शुक्रबार) दिउँसो दिक्तेल बजारमा बिरोध प्रदर्शन गर्दै दोषीलाई कानूनी कारबाही गर्न तथा आफ्नो बचत सुरक्षितसाथ फिर्ता दिलाइदिन माग गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत पुगेर धर्ना दिएका हुन् ।
पक्राउ परेका दोषीलाई उन्मुक्ति नदिन, अन्य दोषीलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन र डुबेको बचत रकमको साँवाब्याज फिर्ता गर्ने वातावरण निर्माणका लागि प्रदर्शन गरिएको बचतकर्ताहरुले बताएका छन् । बचत अपचलनमा मुछिएकामध्ये पक्राउ पर्ने तीनजनाको नाम प्रहरीले गोप्य राखेको छ ।
पक्राउ परेका व्यक्तिलाई अदालतले तारिखमा छाड्न लागेको सूचना आएका कारण कानूनी कारबाही तथा आफूहरुको बचत फिर्ताका लागि दबाबमुलक प्रदर्शन गरिएको बचतकर्ता धनीराम नछुङले बताउनुभएको छ । सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशी र व्यवस्थापक रुकु जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ताहरु यसअघिदेखि नै चरणवद्ध आन्दोलन गरिरहेका छन् ।
थोपाथोपा गरेर जम्मा गरेको बचत डुबाएको भन्दै बचतकर्ताले वि.सं. २०७९ फागुन–२ गते तत्कालीन अध्यक्ष जोशी परिवारका पाँचजनासहित आठजना बिरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए । सहकारीको नाममा खरिद गरिएको जग्गा अनिलको परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष २०७७÷०७८ को लेखा परीक्षण प्रतिबेदनमा उल्लेख छ ।
वि.सं. २०७२ मङ्सिर–१० गतेदेखि दिक्तेल बजारमा कारोबार शुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको थियो । जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण वि.सं. २०७८ वैशाख–१५ गते पोखरामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
जोशीको निधनपछि वि.सं. २०७८ वैशाख–१६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प छ । सहकारीमा जिल्लाका चार हजार ५०० बचतकर्ताको लगानी रहेको लेखा परीक्षण प्रतिवेदनमा देखिएको छ ।
सहकारीमा एकैजनाले रु ४५ लाखसम्म बचत गरेका छन् भने ७४ जना ऋणी रहेका छन् । ऋणीहरुले न्यूनतम रु ३० हजारदेखि रु ७५ लाखसम्म ऋण लगेको देखिएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।
सहकारीको जग्गा बाहेक सावा ब्याजसहित करिब रु दश करोड ऋण लगानी रहेको जनाइएको छ । बचतकर्तालाई सावाब्याजसहित करिब रु सात करोड फिर्ता दिनुपर्ने लेखा परीक्षण प्रतवेदनमा हिसाब देखिएको छ ।
सहकारीका तत्कालीन अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन कठिन भइरहेको सञ्चालक समिति सदस्य तुलसी आचार्यले बताउनुभएको छ । “सहकारीका कतिपय ऋणीले पटक–पटक भाका राख्ने, तत्कालीन अध्यक्ष जोशीलाई दिइसकेको भन्दै पन्छिने र कतिपयले अदालत जान भनेर घुक्र्याउने गरेका छन्”, उहाँले भन्नुभयो, “बचतकर्ताले सहकारीमा जम्मा गरेको आफ्नो बचत रकम फिर्ता माग्दै कार्यालय घेर्न थालेपछि ऋण असुल गर्दै बचत फिर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ ।”
जिल्लामा सञ्चालित अन्य केही सहकारी संस्थाले पनि आफूहरु बचत फिर्ता नदिएको बचतकर्ताहरुले गुनासो गर्न थालेका छन् । दश स्थानीय तह रहेको जिल्लामा १८१ वटा सहकारी संस्था सञ्चालनमा रहेका छन् ।