समाजवादी मोर्चाले असोज–२६ गते दिक्तेलमा सन्देशसभा गर्ने

Halesi Khabar
0 Shares

खोटाङ, २२ असोज । समाजवादी मोर्चा नेपाल खोटाङले यही असोज–२६ गते दिक्तेलमा सन्देशसभा तथा जिल्ला कार्यसमिति घोषणा गर्ने भएको छ । मोर्चामा आवद्ध जिल्लास्थित चार राजनीतिक दलले सोमबार पत्रकार सम्मेलन गरेर दिक्तेलमा सन्देशसभा तथा जिल्ला कार्यसमिति घोषणा गर्ने जानकारी दिएको हो ।

मोर्चाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङको पार्टी कार्यालय दिक्तेलमा पत्रकार सम्मेलन गरेर सन्देशसभा तथा जिल्ला कार्यसमिति घोषणा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । दिक्तेलस्थित समिक्षालय हलमा सञ्चालन हुने कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवम् पूर्वसांसद टंक राई, नेकपा (एकीकृत समाजवादी) पार्टीका पोलिटब्यूरो सदस्य एवम् पूर्वमन्त्री राजन राई, जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जुङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लप समूहका केन्द्रीय सदस्य चन्द्र बुढाथोकी ‘सैलेश सी’ लगायतका नेताहरुले सम्बोधन गर्नुहुने जनाइएको छ ।

सन्देशसभामार्फत घोषणा हुने मोर्चाको जिल्ला कार्यसमितिमा चारवटै राजनीतिक दलका दुई÷दुईजना प्रतिनिधि सहभागी गराउन केन्द्रबाट सर्कुलर आएको जसपा खोटाङका जिल्ला अध्यक्ष पिके खम्बुले जानकारी दिनुभएको छ । मोर्चाको जिल्ला कार्यसमितिमा को–को बस्ने भन्ने बारेमा भने अहिलेसम्म टुङ्गो लाग्न बाँकी रहेको जनाइएको छ ।

मोर्चाले जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाहेक अन्य सबै राजनीतिक दलसँग सहकार्य गरेर अगाडि बढ्ने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष जलशेर राईले जानकारी दिनुभयो । “एमाले प्रतिगमनकारी पार्टी हो । मोर्चाले एमालेसँग कुनै पनि सहकार्य गर्दैन”, पत्रकार सम्मेलन मोर्चाको राख्नुहुँदै अध्यक्ष राईले भन्नुभयो, “जिल्लाको समग्र विकास तथा भलाइका निम्ति एमाले बाहेक अन्य जुनसुकै पार्टीसँग मोर्चा सहकार्य गरेर अगाडि बढ्छ । तर, प्रतिगमनकारी पार्टी एमालेसँग सहकार्य गर्दैन ।”

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका जिल्ला संयोकज दीपक पाण्डे ‘आकाश’, एकीकृत समाजवादीका अध्यक्ष राई, जसपाका अध्यक्ष खम्बु, नेकपाका जिल्ला ईन्चार्ज सञ्जिव मगर (सी) लगायतका नेताहरु सहभागी हुनुभएको थियो । जिल्लामा गठन हुने समाजवादी मोर्चाको औचित्यका बारेमा पत्रकार सम्मेलनमा सहभागी नेताहरुले प्रस्ट्याएका थिए ।

समाजवादी मोर्चा नेपाल खोटाङको गत भदौ–२२ गते दिक्तेलमा बसेको पहिलो बैठकको अध्यक्षता नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङका अध्यक्ष राईले गर्नुभएको थियो । केन्द्रमा छ÷छ महिनामा नेतृत्व परिवर्तन गर्ने केन्द्रीय निर्णय अनुसार खोटाङमा मोर्चाको पहिलो बैठकको अध्यक्षता नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला अध्यक्ष राईले गर्नुभएको हो ।

बैठकले मोर्चाको कार्यक्रमलाई सफल बनाउन लागिपर्ने, जिल्लाको विकास निर्माणमा भइरहेका ढिलासुस्तीबिरुद्ध आवाज उठाउने लगायतका विषयमा छलफल गरेको थियो । गत भदौ–२५ गते बिराटनगरमा भएको मोर्चाको प्रदेश भेलाले खोटाङ जिल्लाको नेतृत्व जसपालाई दिने निर्णय गरेको जनाइएको छ ।

समाजवादी मोर्चा नेपालमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् । नेपाली मौलिकतासहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहित गत असार–४ गते समाजवादी मोर्चा नेपाल घोषणा भएको हो ।

तपाईको प्रतिक्रिया