गोरु काटेर सामुहिक भोज खाने चारजना स्थानीय बासिन्दा १५ दिनपछि रिहा

Halesi Khabar
0 Shares

खोटाङ, २३ असोज । गोरु काटेर सामुहिक भोज खान÷खुवाउनमा संलग्न खोटाङका चारजना स्थानीय बासिन्दा १५ दिनपछि रिहा भएका छन् । गोरु काटेर सामुहिक भोज खान र खुवाउनमा संलग्न भएको अभियोगमा गत असोज–९ गते पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ४० वर्षीय तेजबहादुर तामाङ, २१ वर्षीय डिकमान तामाङ, ३५ वर्षीय गोपाल तामाङ र रावाबेँसी गाउँपालिका–६ हौंचुरका २७ वर्षीय बादल गुरुङ मङ्गलबार तारेखमा रिहा भएका हुन् ।

जिल्ला अदालतको आदेशमा तेजबहादुर सामान्य तारेखमा र अन्य तीनजना रु दश÷दश हजार धरौटीमा छुटेको प्रहरीले जनाएको छ । मङ्गोल नेशनल अर्गनाइजेसन (डिजिजी)को अगुवाइमा असोज–८ गते गोरु काटेर सामुहिक भोज खान र खुवाउन संलग्न भएको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको थियो ।

आ–आफ्नो घरमा बसिरहेको अवस्थामा पक्राउ परेका उनीहरुको रिहाइको माग गर्दै डिजिजीले असोज–१० गते र असोज–१४ गते दिक्तेल बजारमा प्रदर्शन गरेको थियो । प्रहरीले गोरु काट्न नेतृत्व गर्ने भन्दा सहयोगी र भोजको भिडियो शेयर गर्नेलाई मात्र पक्राउ गरेको भन्दै आलोचना भएको थियो ।

डिजिजीले घटनाको अपनत्व लिन खोजेपछि जिल्लाका पहिचान पक्षधरहरु पछाडि हटेका थिए । डा. गोपाल गुरुङ नेतृत्वको मङ्गोल नेशनल अर्गनाइजेसन पार्टीबाट फुटेर बनेको मङ्गोल नेशनल अर्गनाइजेसन (डिजिजी) समूहले पूर्वी नेपालमा गोरु काटेर सामुहिक भोजको आयोजना गर्दै आएको छ ।

गोरु÷गाई काटेर खाएको आरोपमा राज्यले धेरै मानिसलाई पक्राउ गरी कारबाही गर्ने कार्य तीव्र पारेपछि त्यसको प्रतिरोधमा गोरु काटेर सामुहिक भोज खाने अभियान चलाइएको उनीहरुले बताउँदै आएका छन् । डिजिजीमा आवद्ध समूहले पूर्वी नेपालका विभिन्न ठाउँमा साँस्कृति क्रान्ति भन्दै अराजक गतिविधि गरिरहेको पाइएको छ ।

तपाईको प्रतिक्रिया