खोटाङ, २७ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जिल्लामा चाडपर्व लक्षित सवारी जाँच विशेष अभियान शुरु गरेको छ । आउँदै गरेको दशैँ, तिहार तथा छट लगायत चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीले शुरु गरेको सवारी जाँच विशेष अभियानको दोश्रो दिनमै चारवटा यात्रुबाहक सुमो (जीप) कारबाहीमा परेका छन् ।
सुमो चालकले यात्रुबाट निर्धारण गरिएको भाडादरभन्दा झण्डै दोब्बर बढी आफूखुसी भाडा लिने गरेको पाइएपछि कारबाही शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक हिमाल पौडेलले जानकारी दिनुभएको छ । “जिल्ला भाडादर निर्धारण समितिले सुमोका लागि दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी भाडा रु दुई हजार १० भाडादर कायम गरेको छ । सुमो चालक तथा सञ्चालकले विभिन्न बहानामा यात्रुबाट रु दुई हजार २०० देखि रु तीन हजार ५०० सम्म भाडा लिएको पाइयो”, उहाँले भन्नुभयो, “चाडपर्व लक्षित विशेष सवारी जाँच अभियानमा तोकिएभन्दा बढी लिएको भाडाबापतको रकम सम्बन्धित यात्रुलाई फिर्ता गराउन थालेका छौँ । अभियान शुरु गरेको दोश्रो दिनमै चारवटा सुमो कारबाही परेका छन् । ती चारवटै सुमोलाई कारबाहीस्वरुप आगामी दिनमा नदोहो¥याउने सर्तमा रु तीन÷तीन हजार जरिवानाबापतको रकम तिराएर छाडिएको छ ।”
ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौँबाट यात्रु लिएर खोटाङ आउँदै गरेको ना १ ज ३३९३, ना १ ज ४४८३, प्रदेश–२–०३०१ ज ००११ र ना १ ज ५६५९ नम्बरको यात्रुबाहक सुमो कारबाहीमा परेको हो । ना १ ज ५६५९ नम्बरको सुमोले सबैभन्दा बढी रु एक हजार ४९० अर्थात रु तीन हजार ५०० सम्म रकम लिएको पाइएको ट्राफिक प्रहरी प्रमुख पौडेलले जानकारी दिनुभएको छ ।
सुमो चालकले आफूहरुबाट तोकिएभन्दा बढी भाडा लिए पनि टिकट भने नदिएको कारबाहीमा परेका सुमो चढेर आएका यात्रुहरुले बताएका छन् । “हामीले तोकिएभन्दा बढी रकम तिनुपर्छ भने टिकट दिनुस् भन्यौँ । उल्टै बाटोमा प्रहरीले सोधेको खण्डमा रिजर्भमा आएको भन्न लगायो । वर्ष दिनमा आउने चाड मान्न जसरी पनि आफ्नो घर जानुपर्ने अवस्था छ”, नाम नभन्ने सर्तमा एक यात्रुले भने, “चाडपर्वको अवसर पारेर वर्ष दिनपछि बल्ल आफ्नो घर जान पाइन्छ । छुट्टी लामो हुँदैन । भाडाको विषयमा बाग्रेनिङ गर्न थाल्यो भने अर्को मान्छे चढाएर पठाउँछ । बसौँ भने होटलमा एक रातको रु दुई÷तीन हजारभन्दा बढी उठ्छ । होटलमा तिर्नुभन्दा एक दिनभए पनि अगाडि नै घर पुगिन्छ भन्ने सोचेर बढी नै भएपनि भाडा तिरेर आएका थियौँ । दिक्तेल आइपुगेपछि तोकिएभन्दा बढी लिएको रकम ट्राफिक प्रहरीले फिर्ता गराइदिएको छ ।”
दश स्थानीय तह रहेको जिल्लामा लामो तथा छोटो दूरीमा सञ्चालन हुने करिब १५० वटा सुमो रहेको ट्राफिक प्रहरीले जनाएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारभन्दा बाहिर सञ्चालन हुने सुमोले सबैभन्दा बढी मनपरी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गर्दै आएका छन् ।
चाडपर्वको बहानामा सवारी चालकले यात्रुबाट बढी भाडा असुल्ने, सिट क्षेमताभन्दा बढी यात्रु बोक्ने तथा अभद्र व्यवहार गर्ने भएकाले नियन्त्रण गर्न जिल्लाका विभिन्न ठाउँमा यात्रु सहायता कक्षसमेत स्थापना गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् खोटाङका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिनुभएको छ । “यात्रुको सहज यात्राका लागि सुरक्षा निकायकोतर्फबाट भरपुर सहयोग उपलब्ध गराउने प्रयत्न गरिरहेका छौँ । यातायात व्यवसायीले पुरानै भाडादर कायम गर्ने प्रतिबद्धता जनाएका छन्”, उहाँले भन्नुभयो, “आफ्नो प्रतिबद्धता बिपरित काम गर्ने व्यवसायीलाई कानून बमोजिम कारबाही हुन्छ । यसका लागि जिल्ला प्रहरी कार्यालय खोटाङको १०० नम्बरको हट लाइन सेवा चौबीसैघण्टा सञ्चालन गरेका छौँ ।”
जिल्लामा सञ्चालित सुमोले बढी भाडा असुलेको गुनासो आएपछि खोटाङ यातायात प्रा.लि.ले पुरानै भाडादर कायम गरेर सामाजिक सञ्जाल फेसबुकमार्फत विभिन्न ठाउँमा सञ्चालन हुने बस तथा सुमोको भाडादर सार्वजनिक गरेको छ । चाडपर्वको बहानमा खोटाङ यातायात प्रा.लि.मा आवद्ध सुमो तथा बसले तोकिएभन्दा बढी भाडा लिएको खण्डमा सम्बन्धित यातायात चालक तथा यातायात धनीलाई कारबाही गर्ने÷गराउने निर्णयसमेत गरेर पुरानै भाडादर लागू गर्नेतरी भाडादर सार्वजनिक गरिएको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो ।
खोटाङ यातायात प्रा.लि.ले सार्वजनिक गरेको भाडादर अनुसार बसमा दिक्तेल–काठमाडौँ तथा काठमाडौँ–दिक्तेलको एकतर्फी भाडा रु एक हजार ६१० निर्धारण गरिएको छ भने दिक्तेल–धरान तथा धरान–दिक्तेलको एकतर्फी भाडा रु एक हजार ६५० कायम गरिएको छ । सुमोका लागि दिक्तेल–धरान तथा धरान–दिक्तेलको एकतर्फी भाडा रु दुई हजार १२५ निर्धारण गरिएको जनाइएको छ ।
जिल्लामा बस तथा सुमो सञ्चालन गर्ने आधा दर्जनबढी यातायात प्रा.लि. छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा खोटाङ यातायात प्रा.लि.बाहेक अन्यले अहिलेसम्म भाडादर सार्वजनिक गरेका छैनन् ।