चिसापानी बजारमा सञ्चालित गोदाम अनुगमनमा व्यवसायीको अबरोध

Halesi Khabar
0 Shares

खोटाङ, २७ असोज । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा बजार अनुगमनमा गएको टोलीलाई व्यवसायीले गोदाम अनुगमन गर्न अबरोध गरेका छन् । दशैंतिहार नजिकिदै गर्दा शनिबार बजार अनुगमनका लागि इलाका प्रशासन कार्यालय खोटाङबजारबाट पुगेको अनुगमन टोलीलाई व्यवसायीले गोदाम हेर्न अबरोध गरेका हुन् ।

पहिलो व्यवसायीको गोदाम अनुगमन गरेपछि दोश्रो व्यवसायीको गोदाम अनुगमन गर्नेक्रममा व्यवसायीबाट अबरोध भएको इलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख मोहनबहादुर राईले बताउनुभएको छ । इलाका प्रशासन कार्यालय प्रमुख राईका अनुसार अनुगमन टोलीले चिसापानी बजारका सबै खुद्रा पसल अनुगमन सकेपछि पुनः गोदाम अनुगमन गर्न खोज्दा व्यवसायीले अवरोध गरेका हुन् ।

शुरुमा गोदाम नहेरी पसलमा बाहिर राखिएका सामान मात्र अनुगमन गरेको टोलीलाई साना खुद्रा व्यवसायीले गोदाम अनुगमन गर्न आग्रह गरेपछि अनुगमन टोलीले गोदाम हेर्न थालेका थिए । स्थानीय गोदामबाट खरिद गरेर पसलमा राखेको उपभोग्य वस्तुको म्याद नाघेको पाइएपछि र अनुगमन टोलीले जफत गरेपछि साना खुद्रा व्यवसायीले गोदाम अनुगमन गर्न आग्रह गरेका थिए ।

“एकसरो बजार अनुगमन सकियो । अनुगमन गर्दा भारी मात्रामा म्याद नाघेको खाद्यवस्तु भेटियो । साना व्यवसायीले तिनै गोदामबाट सामान लगेर बिक्री गर्ने गरेका रहेछन्,” अनुगमन टोलीका संयोजकसमेत रहनुभएका कार्यालय प्रमुख राईले भन्नुभयो, “गोदामबाट ल्याएर पसलमा राखेको सामान म्याद नाघेको पाइएपछि गोदाम नै अनुगमन गर्नुपर्छ भन्ने माग उठ्यो । पहिलो गोदाम सकेर दोश्रो गोदाम हेर्न खोज्दा लफडा भयो ।”

अनुगमन गर्न बाँकी गोदाम केही समयपछि पुनः अनुगमन गर्ने तयारी गरिएको अनुगमन टोलीले जनाएको छ । अनुगमन टोलीले चिसापानी बजारबाट म्याद नाघेका एक ट्याक्टर सामान बरामद गरेर नष्ट गरेको जनाइएको छ ।

बजार अनुगमनका क्रममा रु एक लाख ६९ हजार ३२० बराबरको म्याद नाघेको सामग्री बरामद गरेर नष्ट गरिएको जन्तेढुगा गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले बताउनुभयो । अनुगमन टोलीले म्याद नाघेको रु २५ हजारको सानो ड्यू, रु १६ हजार दुई २०० को मेहेन्दी, रु १० हजार ८०० को बडी स्प्रे, रु दश हजार ८०० को लिपिस्टिक, रु नाँै हजार ४५० को भ्यास्लिन, रु आठ हजार ४०० को इनामेल, रु आठ हजार ८०० को जीवनज्योती, रु छ हजारको स्याम्पो, रु पाँच हजार ६०० को फ्यान्टा, रु चार हजार १०० को तेल जफत गरेर नष्ट गरेको छ । यस्तै, रु तीन हजार ४९५ को फेयर एण्ड लभ्ली, रु तीन हजार ८०० को कुरमुरे, रु दुई हजारको जम्बो ड्यू, रु एक हजार १०० को स्ट्रीङ्ग जुस, रु ८०० को केराटीन स्मुत, रु ३६० को सोनाटा क्रिम, रु दुई हजार ९७० को पोन्डम क्रिम, रु दुई हजार ३४० को पोन्डस पाउडर, रु दुई हजार ५५० को फेयर एण्ड हेन्डसम, रु ८०० को नाइट क्रिम, रु ८०० को बेबी पाउडर, रु एक हजारको ओले क्रिम, रु एक हजार ७०० को पपया साबुन, रु एक हजार १२० को बाइट पाउडर, रु दुई हजार ३४० को वाइट क्रिम, रु ८४० को पानी, रु ४६० को सुपर ग्लु, रु १५० को मोटर, रु २४० को गम, रु तीन हजार ३२० को मन्जन बरामद गरेर नष्ट गरिएको छ ।

अनुगमन टोलीका अनुसार रु ९०० को सेनीटाइजर, रु दुई हजार ७२० को कलर, रु तीन हजारको हेयर रिमोबर, रु एक हजार ५० को गुट्का, रु ३०० को मःमः मसला, रु एक हजार ५५० को ज्वानो, रु ५० को बेसार, रु २०० को ग्लुकोज, रु चार हजार १८० को बियर गोर्खा स्ट्रङ, रु दुई हजार २८० को कोक, रु ४५० को धुलो खुर्सानी, रु दुई हजार १०० को सानो स्याम्पो, रु ७६० को आटा पिठो, रु ८४० को औषधि, रु एक हजार ३०० को अजिना, रु ४० को सुजी, रु दुई हजार ४०० को नरिवल लड्डु, रु दुई हजार ४०० को हजमोला, रु ७०० को जिरा, रु तीन हजार ७०० को सानो ड्यू, रु ८४० को पोटेटो क्र्याकर र रु २२५ को चकलेट नष्ट गरिएको छ ।

आउँदै गरेको चाडपर्वको अवसरमा हुन सक्ने कालोबजारी नियन्त्रण गर्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लास्थित सबै स्थानीय तहमा सञ्चालित बजार तथा पसल अनुगमनलाई तीव्रता दिएको छ । इलाका प्रशासन कार्यालय रहेको स्थानीय तहमा इलाका प्रशासन कार्यालयको नेतृत्वमा तथा नभएका स्थानीय तहमा सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा अनुगमन गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया