खोटाङ, २९ असोज । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी घर हिँडेपछि दशैँ अगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको बिल रोकिएको छ । भर्खरै सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत रेग्मी निमित्त नछोडी तथा बिना जानकारी सोमबार बिहानै घर हिँडेपछि गाउँपालिकाको सबै काम रोकिएको हो ।
दशैँ अगाडि भुक्तानी पाउनुपर्ने तलब भुक्तानी नै नगरी प्रमुख प्रशासकीय अधिकृत रेग्मी कार्यालय छाडेर घर हिँडेपछि अन्य कर्मचारी आक्रोशित बनेका छन् । बिना जानकारी प्रमुख प्रशासकीय अधिकृत रेग्मी कार्यालय छाडेर हिँडेपछि दशैँ अगाडि गर्नुुपर्ने तलब तथा बिल भुक्तानी लगायतका सबै काम रोकिएको गाउँपालिकाका सूचना अधिकारी पिएसपी चाम्लिङले जानकारी दिनुभएको छ ।
बिना जानकारी कार्यालय छाडेर हिँडेका प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई २४ घण्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो । “कर्मचारीहरुले दशैँ अगाडि पाउनुपर्ने तलब पाएका छैनन् । काम सम्पन्न गरेका निर्माण व्यवसायीको बिल दशैँ अगाडि नै भुक्तानी गर्नुपर्ने छ । यति धेरै काम अलपत्र छाडेर बिना जानकारी प्रमुख प्रशासकीय अधिकृत रेग्मी हिँडेछन्”, उहाँले भन्नुभयो, “फोन गरेर २४ घण्टाभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छु । यो कुरा मन्त्रालयमा समेत जानकारी गराएको छु । हाजिर नभएको खण्डमा कानून बमोजिम कारबाही हुन्छ ।”
उता, प्रमुख प्रशासकीय अधिकृत रेग्मीले भने घरमा जरुरी काम परेकाले अचानक सोमबार बिहानै विराटनगरस्थित घर गएको बताउनुभएको छ । “आइतबार राति अबेरसम्म कार्यालयमा बसेर अधिकांश काम सम्पन्न गरेको छु । बाँकी रहेको केही काम यहीँबाट गर्ने योजना बनाएको छु”, उहाँले भन्नुभयो, “दशैँ अगाडि फर्किने सम्भावना छैन । यहाँबाट सम्भव नहुने काम दशैँपछि कार्यालय गएर गर्छु ।”
दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अहिलेसम्म भुक्तानी सम्बन्धी सम्पूर्ण काम चेकमार्फत गरिने भएकाले सबै कागजात प्रमुख प्रशासकीय अधिकृतको घर पु¥याउन नसकिने गाउँपालिकाले जनाएको छ । भुक्तानी तथा कुनै पनि कामजात बोकेर प्रमुख प्रशासकीय अधिकृत खोज्दै गाउँपालिकाको कार्यालय बाहिर नजान लेखापाल तथा अन्य कर्मचारीलाई भनिएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभएको छ ।
प्रमुख प्रशासकीय अधिकृत रेग्मी बिना जानकारी कार्यालय छाडेर हिँडेको थाहा पाएपछि सामाजिक सञ्जाल फेसबुकमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । केहीले गाउँपालिका प्रमुख राईले फर्जी बिलको आधारमा चेक काट्न दबाब दिएपछि प्रमुख प्रशासकीय अधिकृत फरार भएको स्टाटस लेखेका छन् ।
सामाजिक सञ्जालमा गाउँपालिकाको बारेमा टिकाटिप्पनी हुन थालेपछि गाउँपालिका प्रमुख राईले सोमबार राति नै विज्ञप्ति जारी गर्नुहुँदै बिना प्रमाण भ्रमको खेती नगर्न÷नगराउन अनुरोध गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी असोज–२९ गते बिहानबाट बेपत्ता भएकाले उहाँको ज्यान सुरक्षाको समेत सम्यमतालाई मध्यनजर गर्दै खोजी कार्य भइरहेको विज्ञप्तिमा भनिएको छ ।
“सामाजिक सञ्जालमा बिना प्रमाण सिङ्गो गाउँपालिकाको मानमर्दन हुनेगरी दुष्प्रचार भइरहेको छ । केही व्यक्तिद्धारा गलत तथा कपोकल्पित, मनोमानी, स्वइच्छाचारी र भ्रमपूर्ण ढङ्गबाट भएको दुष्प्रचारप्रति गाउँपालिकाको गम्भीर ध्यानाकार्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानमा प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको विषयको सूचना माग्ने र पाउने हक हुँदा हुँदै भ्रमपूर्ण सूचना प्रवाह नगर्न÷नगर्न नगराउन अनुरोध छ ।”
दशैँको मुखमा प्रमुख प्रशासकीय अधिकृत कार्यालय छाडेर बिना जानकारी हिँडेपछि सबैको ध्यान दिप्रुङ चुइचुम्मा गाउँपलिकातर्फ गएको छ । प्रमुख प्रशासकीय अधिकृत अभावमा गाउँपालिकाले भुक्तानी दिन नसक्ने भएपछि विकास निर्माणको काममा खटिएका अधिकांश कामदारको दशैँ खल्लो हुने निश्चित छ ।