साकेलामा लाभग्राहीको गाउँमै पु¥याएर सामाजिक सुरक्षाभत्ता वितरण

Halesi Khabar
0 Shares

खोटाङ, २ कातिक । साकेला गाउँपालिकाले दशैँको मुखमा सबै वडा पुगेर बैङ्किङ प्रणालीमार्फ सामाजिक सुरक्षाभत्ता रकम वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को पहिलो त्रैमासिक अन्तरगत लक्षित वर्गले पाउने सामाजिक सुरक्षाभत्ता प्रत्येक वडामा पुगेर वितरण गरेको हो ।

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर गाउँपालिकाले नेपाल एसबिआई बैङ्कसँगको सहकार्यमा छ स्थानमा भुक्तानी शिविर सञ्चालन गरेर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख डिएम चाम्लिङले जानकारी दिनुभयो । भौगोलिक विकटता, वृद्धावस्था र शारीरिक अशक्तताका कारण बैङ्कसम्म आएर आफ्नो सामाजिक सुरक्षाभत्ता लिन नसक्ने लाभग्राहीलाई लक्षित गरि सञ्चालन गरिएको शिविरबाट ५३५ जना लाभग्राहीका लागि रु ८० लाख ४७ हजार रकम वितरण गरेको छ ।

गत असोज–२३ गते वडा नं. २ रतन्छामा १३० जना लाभग्राहीको लागि रु १८ लाख ४९ हजार रकम बैङ्किङ प्रणाली मार्फत वितरण गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै, असोज–२४ गते वडा नं. खिदिमामा आयोजना गरिएको भुक्तानी शिविरबाट ८२ जना लाभग्राहीले रु नौँ लाख १७ हजार भत्ता बुझेका छन् ।

असोज–२५ गते वडा नं. ५ मात्तिमबिर्तामा सञ्चालन गरिएको शिविरबाट १०४ जनाले रु १५ लाख ७५ हजार रकम बुझेका छन् भने असोज–२६ गते वडा नं. ४ मात्तिममा सञ्चालित शिविरबाट ४८ जनाले रु सात लाख ४९ हजार रकम प्राप्त गरेका छन् । यता पालिकाको सबैभन्दा टाढाको दूरीमा रहेको वडा नं. १ को बाँझेच्यानडाँडामा असोज–२९ गते सञ्चालन गरिएको शिविरबाट ९२ जनाले रु १७ लाख ७३ हजार र सोही वडाको डाँडागाउँस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा सञ्चालन गरिएको शिविरबाट ७९ जना लाभग्राहीले रु ११ लाख ८४ हजार बुझेका छन् ।

बृद्धबृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि बैङ्कका शाखा प्रबन्धक मेदानीप्रसाद रिजाल आफै वडावडा पुग्नुभएको थियो । भौगोलिक कठिनाइका कारण जेष्ठ नागरिक, बृद्धबृद्धा तथा अशक्तहरु गाउँपालिकाको केन्द्रमा रहेको बैङ्कसम्म पुगेर भत्ता लिन नसक्ने देखिएपछि गाउँपालिकाले वर्षको तीन पटक हरेक वडामा घुम्ती शिविर राखेर सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ ।

जिल्लाको सबैभन्दा सानो स्थानीय तह साकेला गाउँपालिकाले बिगत तीन वर्षअघिदेखि बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेको थियो । तर, गाउँपालिकाको केन्द्रमा मात्र रहेको बैङ्कमा वृद्धवृद्धा र अशक्तहरु आउन नसक्ने देखिएपछि शिविर राखेरै वितरण गर्ने गरिएको गाउँपालिकाले जनाएको छ ।

पाँचवटा मात्र वडा रहेको साकेला गाउँपालिकामा यसअघि कर्मचारीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दा चरम लापरबाही भएको पाइएको थियो । गाउँपालिकामै नभएका एउटा व्यक्तिको नामबाट तीनजनासम्मले लामो समयदेखि सामाजिक सुरक्षाभत्ता बुझ्दै आएको पाइएको थियो ।

सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता भएको पाइएपछि अख्तियार दुरुपयोग आयोग टंगालमा समेत उजुरी परेको थियो । अख्तियारले सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता भएको ठहर गर्दै दोषीमाथि कारबाही गर्न र अनियमितता भएको रकम राज्यकोषमा फिर्ता गर्न गाउँपालिकालाई सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया