मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला–२०८० : खाना र वासको व्यवस्था शुभम् फाउण्डेशनले निःशुल्क उपलब्ध गरायो

Halesi Khabar
0 Shares

खोटाङ, २ कातिक । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा भर्खरै सम्पन्न ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ कार्यक्रम अवधिभरको खाना, खाजा तथा वासको सम्पूर्ण खर्च शुभम् फाउण्डेशन खोटाङले निःशुल्क उपलब्ध गराएको जनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँले गत असोज–१७ देखि २२ गतेसम्म दिक्तेल बजारमा सञ्चालन गरेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रममा सहभागी चित्रकार तथा आयोजकले खाएको खाना, खाजा, वास तथा त्यहाँ उपलब्ध यातायातको सम्पूर्ण खर्च शुभम् फाउण्डेशनले निःशुल्क उपलब्ध गराएको नगरपालिकाले आज (बिहीबार) पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

चित्रकला कार्यशाला तथा कला प्रदर्शनीमा नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका गरी १४ देशका ४३ जना ख्यातिप्राप्त चित्रकारहरु सहभागी भएका थिए । पाँच दिनसम्म सञ्चालन भएको कार्यक्रममा सहभागी चित्रकार तथा अतिथिका लागि खाना, खाजा, वास, यातायात तथा औषधि उपचारमा लागेको सम्पूर्ण खर्च निःशुल्क गरिएको शुभम् फाउण्डेशनका प्रबन्ध÷निर्देशक सूर्यबहादुर राईले जानकारी दिनुभयो ।

शिक्षामा नयाँ अभ्यास गरिरहेको शुभम् फाउण्डेशनमा अध्ययन गर्ने विद्यार्थीले विदेशी पाहुनाका लागिसमेत उपयुक्त हुने होमस्टे (घरवास)सहितको गेष्ट हाउस (पाहुना घर)समेत सञ्चालन गरेका छन् । विदेशी पाहुनाका लागि दिक्तेलमा उपयुक्त होटलहरु नभइरहेको अवस्थामा शुभम्ले ठूलो योगदान गरेको प्रतिक्रिया आएको छ ।

कार्यक्रममा सहभागी ख्यातिप्राप्त चित्रकार तथा अतिथिलाई शुभम्का विद्यार्थीहरुले विभिन्न जातजातिको सँस्कार, सँस्कृतिसँग आधारित साँगीतिक मनोरञ्जनसमेत गराएका थिए । शुभम्का विद्यार्थीले आयोजना गरेको साँगीतिक तथा साँस्कृतिक कार्यक्रममा स्वदेशी तथा विदेशी चित्रकारहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

शुभम्मा सम्पूर्ण चित्रकार तथा अतिथि राखेको विषयमा सामाजिक सञ्जाल फेसबुकमार्फत ओलचना भएको थियो । होटल व्यवसायी सङ्घ खोटाङका अध्यक्ष एवम् रुपाकोट होटलका सञ्चालक जेपी राईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै कार्यक्रममा आएका स्वदेशी तथा विदेशी अतिथिहरुलाई नगरपालिकाकै सेटिङमा शुभम् फाउण्डेशनमा राखिएको आरोप लगाउनुभएको थियो ।

शुभम्का प्रबन्ध÷निर्देशक राईले सेटिङमा नभइ अध्यक्ष राईकै समर्थनमा अतिथिहरुलाई शुभम् फाउण्डेशनमा राख्ने निर्णय नै भएको दाबी गर्नुभएको छ । अध्यक्ष राईको स्टाटसमा प्रबन्ध÷निर्देशक राईले प्रतिक्रिया दिँदै खेल्नुभएको छ, “सेटिङमात्र होइन तपाईकै पहिलो समर्थनमा निर्णय नै भएको छ त ! यस्तो गैर जिम्मेवार कुरा नगर्नु होला दाजै !”

दिक्तेलमा आयोजना गरिएको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रम सफल भएको नगर प्रमुख तीर्थराज भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ । “नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको अन्तर्राष्ट्रियस्तरको कार्यक्रम सफल पार्न सबैको सहयोग रह्यो । कार्यक्रम अवधिभरमा खाना, खाजा, वास तथा यातायातमा रु दश लाख बढी खर्च भएको थियो । त्यो सम्पूर्ण खर्च शुभम्ले निःशुल्क गरेको छ । यसले नगरपालिकालाई ठूलो सहयोग मिल्यो”, उहाँले भन्नुभयो, “विश्वमा ख्यातिप्राप्त चित्रकार ल्याएर सञ्चालन गरिएको यो कार्यक्रमले नगरपालिकाको मात्र नभइ जिल्लाकै गरिमा बढेको महसुस गरेका छौँ । यो जिल्लाको लागि ठूलो उपलब्धी हो ।”

कार्यक्रममा सहभागी स्वदेशी तथा विदेशी चित्रकारले नगरपालिकाको विभिन्न धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलहरुमा पुगेर आफ्नो अगाडि देखिएका दृष्यको प्रत्यक्ष चित्र कोरेका थिए । दिक्तेलमा पाँच दिनसम्म सञ्चालन गरिएको अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनीका क्रममा चित्रकारहरुले १०९ वटा क्यानभास चित्र उतारेको नगरपालिकाले जनाएको छ ।

दिक्तेलबाट काठमाडौँ फर्किएर पनि स्वदेशी तथा विदेशी चित्रकारहरुले क्यानभासमा दर्जनबढी चित्र उतार्ने काम गरेको नगर प्रमुख भट्टराईले जानकारी दिनुभएको छ । नगरपालिकाको आयोजनामा तयार पारिएको चित्र काठमाडौँस्थित नेपाल आर्ट काउन्सिलमा राखेर प्रदर्शनी गर्ने योजना बनाइएको नगरपालिकाले जनाएको छ ।

जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले नगरपालिकाको रु १८ लाख खर्चमा चित्रकला कार्यशाला तथा प्रदर्शनी आयोजना गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभएको छ । “स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रहरु हाम्रो नगरपालिकाको सम्पत्ति हो । यसलाई नगरपालिकाको लगानीमा सङ्ग्रहालय बनाएर राख्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “चित्रकारले प्रत्यक्ष कोरेका यी चित्रहरु नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत हो । तत्कालका लागि प्रत्यक्ष फाइदा नदेखिए पनि हामीले इतिहास निर्माण गरेका छौँ ।”

जिल्लामै पहिलो पटक दिक्तेलमा आयोजना गरिएको प्रत्यक्ष चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रम हजारौँले अवलोकन गरेका छन् । प्रत्यक्ष चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम अवलोकन गर्न आएका अधिकांश सहभागीले नगरपालिकाको यो कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया