खोटाङ, ३ कातिक । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शाखा अधिकृत (छैटौँ)मा कार्यरत पिएसपी चाम्लिङले सम्हाल्नुभएको छ । असोज–२९ गते बिहान बिना जानकारी कार्यालय छाडेर हिँडेका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी नफर्किएपछि स्थानीय विकास मन्त्रालयले सोही गाउँपालिकामा कार्यरत शाखा अधिकृत छैटौँमा कार्यरत चाम्लिङलाई आर्थिक अधिकारसहितको निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेको हो ।
मन्त्रालयको पत्र प्राप्त गरेको भोलिपल्ट आज (शुक्रबार) शाखा अधिकृत चाम्लिङले औपचारिक रुपमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभएको छ । “बिना जानकारी घर हिँडेका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीलाई २४ घण्टाभित्र पालिकामा हाजिर हुन निर्देशन दिइएको थियो । तोकिएको समयमा हाजिर नभएपछि मन्त्रालयमा पुगेर शाखा अधिकृत पिएसपी चाम्लिङलाई आर्थिक अधिकारसहितको जिम्मेवारी दिनेगरी निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकेर ल्याइएको छ”, उहाँले भन्नुभयो, “गैर जिम्मेवार तरिकाले बिना जानकारी कार्यालय छाडेर हिँड्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई अन्यत्र सरुवा गरिएको छ । उहाँको ठाउँमा शाखा अधिकृत चाम्लिङले जिम्मेवारी सम्हालेसँगै प्रमुख प्रशासकीय अधिकृत नहुँदा रोकिएका गाउँपालिकाको सम्पूर्ण काम अगाडि बढेको छ ।”
गत भदौ–२९ गते सरुवा भएर दिप्रुङ चुइचुम्मा गाउँपालिका आएका प्रमुख प्रशासकीय अधिकृत रेग्मी असोज–२९ गते बिहानै बिना जानकारी घर हिँडेपछि गाउँपालिकाको सबै काम रोकिएको थियो । दशैँ अगाडि भुक्तानी पाउनुपर्ने कर्मचारीको तलब तथा काम सम्पन्न गर्ने निर्माण व्यवसायीको बिल भुक्तानी रोकेर निमित्तसमेत नछोडी प्रमुख प्रशासकीय अधिकृत रेग्मी घर हिँडेपछि पालिकामा खैलाबैला भएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत रेग्मी बिना जानकारी कार्यालय छाडेर हिँडेको थाहा पाएपछि सामाजिक सञ्जाल फेसबुकमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । केहीले गाउँपालिका प्रमुख राईले फर्जी बिलको आधारमा चेक काट्न दबाब दिएपछि प्रमुख प्रशासकीय अधिकृत फरार भएको स्टाटस लेखेका छन् ।
सामाजिक सञ्जालमा गाउँपालिकाको बारेमा टिकाटिप्पनी हुन थालेपछि गाउँपालिका प्रमुख राईले सोमबार राति नै विज्ञप्ति जारी गरेर बिना प्रमाण भ्रमको खेती नगर्न÷नगराउन अनुरोध गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत रेग्मी बिना जानकारी असोज–२९ गते बिहानबाट बेपत्ता भएकाले उहाँको ज्यान सुरक्षाको समेत सम्यमतालाई मध्यनजर गर्दै खोजी कार्य भइरहेको विज्ञप्तिमा भनिएको थियो ।
कार्यालय छाडेर हिँड्नुभएका प्रमुख प्रशासकीय अधिकृत रेग्मीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा ‘तलबभत्ता, सामाजिक सुरक्षाभत्ता लगायत धेरैजसो भुक्तानी दिइसकेको छु । जतिसुकै मिडियाबाजी, गलत प्रचार–प्रसार गराए पनि आफ्नो बचाउ गर्न वाहियात विज्ञप्ति निकाले पनि राज्यको सम्पत्ति एक रुपैयाँ पनि गैर कानूनीरुपमा भुक्तानी दिन्न’ भनेर स्टाटस लेख्नुभएको थियो । गाउँपालिका प्रमुख राईसँगको आन्तरिक द्धन्द्धमा फस्नुभएका प्रमुख प्रशासकीय अधिकृत रेग्मीको सरुवा मन्त्रालयले सोलुखुम्बू जिल्लाको नेचासल्यान गाउँपालिकामा गरेको स्रोतले जनाएको छ ।