दशैँको टीका लगाएपछि बेपत्ता बन्नुभएकी बृद्वा सात दिनपछि सकुशल फेला

Halesi Khabar
0 Shares

खोटाङ, १३ कातिक । सात दिनदेखि बेपत्ता बन्नुभएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित बसेरीकी ६८ वर्षीया जैसीमायाँ ढुङ्गाना सकुशल फेला पर्नुभएको छ । विजय दशमीको दिन अर्थात गत कातिक–७ गतेदेखि टीका लगाएपछि बेपत्ता बन्नुभएकी जैसीमायाँलाई स्थानीयले दिएको जानकारीको अधारमा सोही नगरपालिकाको वडा नं.–३ बाम्राङको दिखुवाखोलाको पुलभन्दामाथिको भीरमा बसिरहेको आज (सोमबार) सकुशल फेला पारिएको हो ।

आफन्तको घरमा टीका लगाएर आफ्नो घर फर्कने क्रममा बेपत्ता बन्नुभएकी बृद्धा हजुरआमा (बजू) गाउँबाट करिब तीन घण्टा टाढा पर्ने जङ्गलमा रहेको भीरमा फेला पारिएको नाती सुनिल ढुङ्गानाले बताउनुभयो । सकुशल फेला पर्नुभएकी बृद्धा चोली र पेटीकोटमात्र लगाएको अवस्थामा भेटिनुभएको जनाइएको छ ।

बेपत्ता भएको सात दिनपछि बृद्धालाई भीरमा एक्लै बसिरहेको अवस्थामा सकुशल फेला पारिएपछि सर्जमिन मुचुल्का उठाउन प्रहरी टोली घटनास्थल पुगेको जनाइएको छ । आफन्तलाई चिनेर बोलचालसमेत गर्नुभएकी बृद्धाले ‘आफू कसरी भीरमा पुगेको’ भन्ने बारेमा भने केही बताउनुभएको छैन ।

मानसिक सन्तुलनसमेत ठीक रहेको बृद्धा बेपत्ता बनेको चार दिनसम्म नभेटिएपछि कातिक–११ गते प्रदेश प्रहरी कार्यालय के–नाइन शाखाबाट अनुुसन्धान गर्ने दुईवटा कुकुर ल्याएर बेपत्ताको खोजी शुरु गरिएको थियो । तर, फेला नपरेपछि तालिम प्राप्त कुकुरलाई आइतबार फिर्ता पठाइसकिएको प्रहरीले जनाएको छ ।

श्रीमान शिवप्रसाद ढुङ्गानासँग आफन्तको घरमा दशैँको टीका लगाएर फर्कने क्रममा जैसीमायाँ बेपत्ता बन्नुभएको जनाइएको छ । घरभन्दा करिब तीन मिनेटमाथि पर्ने डाँडाबाट श्रीमान अघि लागेर घर झरेको तर, केही पछि रहनुभएकी जैसीमायाँ बेपत्ता बन्नुभएको पारिवारिक स्रोतले जनाएको छ ।

सकुशल फेला पर्नुभएकी बृद्धाको स्वास्थ्य परीक्षण गर्न जिल्ला अस्पतालमा ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । बेपत्ता बृद्धाको आफन्त, स्थानीय र प्रहरीले खोजी गर्दा नभेटेपछि प्रहरीको तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको हो ।

तपाईको प्रतिक्रिया