खोटाङ, १६ कातिक । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ अन्तगरत दोस्रो चरणको प्रदर्शनी कार्यक्रम गर्ने भएको छ । नेपालसहित विभिन्न १४ देशका ४३ जना ख्यातिप्राप्त चित्रकारहरुले क्यानभासमा उतारेका चित्रहरुलाई नगरपालिकाले काठमाडौँस्थित नेपाल आर्ट काउन्सिल बबरमहलको सभाहलमा आगामी माघ–१० गतेदेखि २९ गतेभित्र १५ दिनसम्म प्रदर्शनी गर्ने भएको हो ।
गत असोज–१७ गतेदेखि २१ गतेसम्म जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको कार्यक्रममा नगरपालिको १५ वटै वडा तथा जिल्लाका अन्य नौँ स्थानीय तहका धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलहरुलाई ख्यातिप्राप्त चित्रकारहरुले लाईभ क्यान्भासमा उतारेका चित्रलाई प्रदर्शनीमा राखिने जनाइएको छ । नेपाल, अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामबाट आएका चित्रकारहरुले दिक्तेल बजारको विभिन्न चोक तथा किराँत ऐतिहासिकस्थल मझुवागढी, शुभम् फाउण्डेशन र जालपामा पुगेर १०९ वटा तथा अन्य विभिन्न ठाउँमा बसेर ४१ वटा क्यान्भास चित्र उतारेका छन् ।
जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्ने उद्देश्यले उतारिएको क्यानभास चित्र प्रदर्शनी कार्यक्रमको प्रमुख अतिथ्यता लागि राष्ट्रपति पौडेललाई औपचारिकरुपमा पत्रसमेत प्रदान गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । “हामीले गरेको निम्तोलाई राष्ट्रपति ज्यूले सहर्ष स्वीकार गर्नुभएको छ । राष्ट्रपति ज्यूकै सल्लाहअनुसार आगामी माघ–१० गतेदेखि २९ गतेभित्र १५ दिन प्रदर्शनी गर्ने योजना बनाएका छौँ । राष्ट्रपति ज्यूको अनूकुलमा कार्यक्रम तय हुन्छ”, उहाँले भन्नुभयो, “हामीले अन्तर्राष्ट्रियस्तरको चित्रकला कार्यशाला भव्यतापूर्वक सम्पन्न गरेकामा राष्ट्रपति ज्यूले नगरपालिकालाई बधाइसमेत दिनुभयो । कला, साहित्य र सँगीतले विश्व जगतलाई जोड्ने भएकाले खोटाङमा यस क्षेत्रको विकासका लागि राष्ट्रपतिले आफ्नोतर्फबाट सहयोग गर्ने वचनसमेत दिनुभएको छ ।”
राष्ट्रपति पौडेलसँग नगर प्रमुख भट्टराईको नेतृत्वमा शितल निवास जानुभएका प्राज्ञ धनबहादुर याख्खा र विजय थापा, वरिष्ठ चित्रकार रतनकुमार राई, किरण सिजु, विनिता इजमले भेटघाट गर्नुभएको छ । क्यानभास चित्र प्रदर्शनी कार्यक्रममा खोटाङका किराँत राई, तामाङ, नेवार र क्षेत्री÷ब्राम्हणको साँस्कृतिक झाँकी, पुस्तक विमोचन, चित्रकारलाई सम्मान लगायतका कार्यक्रम गरिने नगरपालिकाले जनाएको छ ।
जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले नगरपालिकाको रु १८ लाख खर्चमा चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभएको छ । “स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रहरु हाम्रो नगरपालिकाको सम्पत्ति हो । यसलाई नगरपालिकाको लगानीमा सङ्ग्रहालय बनाएर राख्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “ख्यातिप्राप्त चित्रकारहरुले प्रत्यक्ष कोरेका यी क्यानभास चित्रहरु नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत हो । तत्कालका लागि यस (चित्रकला कार्यशाला)ले प्रत्यक्ष फाइदा नदेखिए पनि हामीले इतिहास निर्माण गरेका छौँ ।”
जिल्लामै पहिलो पटक दिक्तेल बजारमा आयोजना गरिएको प्रत्यक्ष चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रम हजारौँले अवलोकन गरेका थिए । प्रत्यक्ष चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम अवलोकन गर्न आएका अधिकांश सहभागीले नगरपालिकाको यो कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट फोटो स्टुडियो काठमाडौँको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम अवधिभरको खाना, खाजा तथा वास लगायत रु दश लाख बढीको सम्पूर्ण खर्च शुभम् फाउण्डेशनले निःशुल्क उपलब्ध गराएको छ । कार्यक्रममा सहभागी चित्रकार तथा आयोजकले खाएको खाना, खाजा, वास तथा त्यहाँ उपलब्ध यातायातको सम्पूर्ण खर्च शुभम् फाउण्डेशनले निःशुल्क उपलब्ध गराएको हो ।
शिक्षामा नयाँ अभ्यास गरिरहेको शुभम् फाउण्डेशनमा अध्ययन गर्ने विद्यार्थीले विदेशी पाहुनाका लागिसमेत उपयुक्त हुने होमस्टे (घरवास)सहितको गेष्ट हाउस (पाहुना घर)समेत सञ्चालन गरेका छन् । विदेशी पाहुनाका लागि दिक्तेलमा उपयुक्त होटलहरु नभइरहेको अवस्थामा शुभम्ले ठूलो योगदान गरेको प्रतिक्रिया आएको छ ।