लालुपाते सहकारी घोटला प्रकरण : चिवनबाट पक्राउ परिन् पोखराकी जसोदा पौडेल

Halesi Khabar
0 Shares

खोटाङ, १६ कातिक । लालुपाते सहकारी संस्था खोटाङको बचत रकम अपचलन आरोपमा पोखराकी जसोदा पौडेल (क्षेत्री) चिवनबाट पक्राउ पर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएर गएको प्रहरी टोलीले पौडललाई बुधबार चितवनबाट पक्राउ गरेर आज (बिहीबार) जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याएको छ ।

पक्राउ परेकी पौडेलले पटक–पटक गरेर रु ७० लाखभन्दा बढी रकम लगेको देखिएको प्रहरीले जनाएको छ । पोखराबाट भागेर चितवन पुग्नुभएकी पौडेललाई पक्राउ गरेर जिल्ला ल्याइएसँगै कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।

सहकारीको रकम घोटला प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या पौडेलसँगै नौँ पुगेको प्रहरीले जनाएको छ । यसअघि गत असोज–१३ गते सौर्य एयरलायन्सका क्याप्टेन सुनिल जोशीलाई प्रहरीले श्रीमती रविना श्रेष्ठ (जोशी)सहित काठमाडौँबाट पक्राउ गरेको थियो ।

काठमाडौँस्थित घरैबाट पक्राउ पर्नुभएका जोशी दम्पतीलाई गाडीमार्फत जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याएर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । क्याप्टेन जोशी सहकारी संस्थाका तत्कालीन अध्यक्ष अनिल जोशीको सहोदर भाइ हुनुहुन्छ ।

तत्कालीन अध्यक्ष जोशीले बचतकर्ताको रकम भाइ÷बुहारीको व्यक्तिगत बैङ्क खातामा जम्मा गरेर उनीहरुकै नाममा विभिन्न ठाउँमा जग्गा खरिद गरेको सहकारीको आर्थिक वर्ष २०७७÷०७८ को लेखा परीक्षण प्रतिबेदनमा उल्लेख छ । आफूहरुले जम्मा गरेको बचत डुबाएको भन्दै बचतकर्ताले वि.सं. २०७९ फागुन–२ गते सञ्चालक समितिका तत्कालीन अध्यक्ष जोशीको परिवारका पाँचजना सदस्यसहित आठजना बिरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए ।

तत्कालीन अध्यक्ष जोशीको भाइ÷बुहारीलाई पक्राउ गरेको चार दिनपछि असोज–१७ गते प्रबन्धक रुकु जोशीलाई समेत पक्राउ गरेको थियो । प्रबन्धक जोशी पनि काठमाडौँबाटै पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

बचतकर्ताको रकम घोटला प्रकरणमा मुख्य दोषी ठानिएका क्याप्टेन जोशी लगायतको नाम प्रहरीले अनुसन्धानमा असर गर्ने भन्दै यसअघिसम्म सार्वजनिक गर्न मानेको थिएन । उनीहरुको परिवारले रु एक करोड ५० लाखभन्दा बढी ऋण चलाएको पाइएको सहकारीको लेखा परीक्षण प्रतिबेदनमा उल्लेख छ ।
ऋणीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले महिना दिनपछि गत आइतबार सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईँसहित थप पाँचजनालाई पक्राउ गरेको छ । जिल्लाका चार हजार ५०० बचतकर्ताको रकम घोटला प्रकरणमा थप अनुसन्धान गर्न उपाध्यक्ष चौलागाईँ, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

वि.सं. २०७२ मङ्सिर–१० गतेदेखि दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार शुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने तत्कालीन अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको थियो । जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण वि.सं. २०७८ वैशाख–१५ गते पोखरामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

तत्कालीन अध्यक्ष जोशीको कोभिड–१९ का कारण निधनपछि वि.सं. २०७८ वैशाख–१६ गतेदेखि सहकारी संस्थाको आर्थिक कारोबार ठप्प छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित सहकारी संस्थामा एकैजनाले रु ४५ लाखसम्म बचत गरेका छन् भने ७४ जना ऋणी रहेका छन् ।

सहकारीका ऋणीहरुले न्यूनतम रु ३० हजारदेखि रु ७५ लाखसम्म ऋण लगेको देखिएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । सहकारीको जग्गा बाहेक साँवाब्याजसहित करिब रु दश करोड ऋण लगानी रहेको जनाइएको छ ।

बचतकर्तालाई साँवाब्याजसहित करिब रु सात करोड रकम फिर्ता दिनुपर्ने लेखा परीक्षण प्रतवेदनमा हिसाब देखिएको छ । सहकारीका तत्कालीन अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन र बचतकर्तालाई फिर्ता दिन कठिन भएको सञ्चालक समितिका अन्य पदाधिकारीहरुले बताउँदै आएका छन् ।

 

तपाईको प्रतिक्रिया