खोटाङ, २५ कातिक । राष्ट्रिय युवा सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको ‘स्लो राईड मोटरसाईकल प्रतियोगिता’को प्रथम उपाधि सिराहाका जितेन्द्र चौधरीले प्राप्त गर्नुभएको छ । खोटाङ अटो लिङ्क प्रा.लि. दिक्तेलमा कार्यरत चौधरीले ३५ जना प्रतिस्पर्धीलाई हराउँदै प्रथम उपाधि प्राप्त गर्नुभएसँगै रु दश हजार १११ नगद पुरस्कारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
तिहारको अवसर पारेर युवा सङ्घले दिक्तेलबजारस्थित माटिकोरे खेलमैदानमा शुक्रबार आयोजना गरेको प्रतियोगितामा बुइपाका दिलीप राई दोस्रो, दिक्तेल हाँटडाँडाका निक्सन ताम्राकार तेस्रो र दिक्तेलकै सुजन कोईरालाले सान्त्वना हुनुभएको छ । दोस्रो, तेस्रो र सान्वना स्थान प्राप्त गर्नुहुने प्रतियोगीले क्रमशः रु छ हजार ६६६, रु चार हजार ४४४ र रु दुई हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
‘गतिसँग होइन, सुरक्षासँग प्रतिस्पर्धा गरौँ’ भन्ने नाराका साथ ‘स्लो राइड मोटरसाइकल प्रतियोगिता’ आयोजना गरेको राष्ट्रिय युवा सङ्घ खोटाङका अध्यक्ष रोशन चाम्लिङ राईले बताउनुभएको छ । “गतिसँग प्रतिस्पर्धा गर्दा धेरै दुर्घटनाहरु भएका छन् । दुर्घटनामा पर्ने अधिकांश युवापुस्ता देखिएको छ”, उहाँले भन्नुभयो, “गतिसँग होइन, सुरक्षासँग प्रतिस्पर्धा गरौँ भन्ने सन्देश प्रवाह गर्न ‘स्लो राइड मोटरसाइकल प्रतियोगिता’ आयोजना गरेका हौँ । यसले आगामी दिनमा दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरेका छौँ ।”
यस्तै, युवा सङ्घकै आयोजनामा भएको हण्डीफोर प्रतियोगितामा दिक्तेल बजारका निक्सन ताम्राकार प्रथम हुनुभएको छ । प्रथम हुनुभएका ताम्राकारलाई रु एक हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
राष्ट्रिय युवा सङ्घका केन्द्रीय उपाध्यक्ष रमेश तिवारीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको प्रतियोगितामा तिहारको शुभकामना आदानप्रदानसमेत गरिएको छ । कार्यक्रममा नेपाल कम्युनिष् पार्टी (एमाले) खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, उपाध्यक्ष देवबिक्रम राई, तरुण दलका केन्द्रीय सदस्य भिषण राई, वाईसिएल नेपालका जिल्ला अध्यक्ष किशन राई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।