खोटाङ, २६ कातिक । विद्युत सर्ट भएर घरमा आगलागी हुँदा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित बुँलागैरीका भीमबहादुर कटवालको रु २५ लाख बढीको क्षति भएको जनाइएको छ । घरमा जडान गरिएको विद्युतको मिटरबक्सबाट सल्किएको आगोले कटवालको जस्तापाताको छाना भएको तीनतले घर, घरमा भएको नगद रु दुई लाख, साढे चार तोला सुन, पाँच तोला चाँदी, नागरिकता, जग्गाधनीपूर्जा, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, काठपात लगायतका सामग्री जलेर पूर्णरुपमा नष्ट भएको हो ।
लक्ष्मी पूजा गर्ने तयारी गर्दैगर्दा आइतबार साँझ कटवालको घरमा भएको आगलागी स्थानीय बासिन्दा र प्रहरीले करिब दुई घण्टापछि पूर्णरुपमा नियन्त्रणमा लिएको जनाइएको छ । हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री विद्युत सर्ट भएर शुरु भएको आगलागीका कारण पूर्णरुपमा जलेर नष्ट भएपछि सातजनाको कटवाल परिवार बिचल्लीमा परेका छन् ।
आगलागी पीडित भीमबहादुरको परिवार उहाँकै सहोदर भाइ अमृतबहादुरको घरमा आश्रय लिएर बसेको छिमेकी गणेश कार्कीले जानकारी दिनुभएको छ । “कटवाल परिवार वर्ष दिनपछि आउने चाड तिहारको दोस्रो दिन लक्ष्मी पूजा गर्ने तयारी गरिरहेका थिएछन् । त्यही समयमा मिटरबक्सबाट आगो सल्किएछ ! हत्तनपत्त सबैजना भेला भएर घरमा लागेको आगो नियन्त्रणमा लिइयो”, तिहार मनाउन घर आउनुभएका नायब सुब्बा कार्कीले भन्नुभयो, “आगलागीका कारण कटवाल परिवारले सर्वस्व गुमाएका छन् । उनीहरुलाई पुनःस्थापित गर्न तिहारपछि राहत सङ्कलन गर्ने तयारी गरिएको छ ।”
तिहार मान्न घर आएका युवा तथा प्रहरीको सक्रियताका कारण कटवालको घरमा लागेको आगो तत्कालै नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगाइएको आगलागी नियन्त्रणमा सहभागीहरुले बताएका छन् । धितुङस्थित बुँलागैरीका अधिकांश स्थानीय बासिन्दाले घरहरु एकअर्काको नजिक बनाएकाले आगलागीको समयमा जोखिम हुने गरेको छ ।
धितुङमा गत वर्ष एकआपसमा जोडिएका दुई घर एउटामा सल्किएको आगोले जलेर पूर्णरुपमा नष्ट भएको थियो भने आठ वर्षअघि एउटा घरबाट शुरु भएको आगोले छवटा घर जलेर नष्ट भएको थियो । सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको धितुङ लगायत अधिकांश वडा आगलागीको उच्च जोखिममा रहेका छन् ।