खोटाङ, ३ मङ्सिर । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा लाग्दै आएको हटियाको समय परिवर्तन गरिएको छ । दिक्तेलस्थित हाटडाँडामा हरेक बुधबार र शनिबार बिहान तीनबजे शुरु भएर सातबजे बजार उठ्ने गरेको हटिया अब बिहान सात बजेबाट शुरु हुने गरी समय परिवर्तन गरिएको हो ।
बिहान तीन बजे बजार शुरु हुँदा टाढाका किसानहरु कृषि उपज लिएर अघिल्लै दिन अथवा राति नै हिड्नु पर्ने बाध्यता थियो । कृषि उपज खरिद÷बिक्री गर्न भइरहेको कठिनतालाई मध्यनजर गरेर हाटडाँडामा लाग्ने हटियाको समय परिवर्तन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।
नगरपालिका, जिल्ला प्रशासन, उद्योग वाणिज्य सङ्घ लगायतको समझदारीमा बजार लाग्ने समय परिवर्तन भएसँगै आगामी बुधबारबाट बिहान सात बजेदेखि बजार शुरु हुनेछ । बजार लाग्ने समय परिवर्तनको विषयमा नगर प्रमुख भट्टराईसँगै, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोतम खड्का, उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्य लगायतको टोली शनिबार बिहान करिब पाँच बजे बजार पुगेर माइकिङमार्फत सात बजेबाटमात्र शुरु गर्न अनुरोध गरेका हुन् ।
आगामी बुधबार पनि पुनः अनुगमन गरेर बिहान सात बजेदेखि बजार शुरु गर्न अनुरोध गरिने नगर प्रमुख भट्टराईले बताउनुभयो । “बिहान तीन बजे बजार शुरु हुँदा बास्तविक किसान र खरिद गर्ने व्यक्तिको भेट नै नहुने रहेछ । किसानसँग दोस्रो व्यक्तिले सामान खरिद गर्ने अनि बिक्री गर्ने हुँदा उपभोक्ताले बास्तविक मूल्यमा खरिद गर्न पाएको देखिएन”, उहाँले भन्नुभयो, “किसान र उपभोक्ताको भेट भएर बास्तविक मूल्यमा किनबेच होस् भनेर बिहान सात बजेबाट बजार शुरु गर्न अनुरोध गरेका छौँ । यो बुधबार कार्यान्वयन भएनभएको प्रहरीले अनुगमन गर्छ ।”
दिक्तेलमा लाग्ने हटियामा बिक्री गर्न किसानले ल्याएको कृषि उपज बिचौलियाले बाटैमा रोकेर खरिद गर्दै आएका छन् । किसानले हटियामा बिक्री गर्न ल्याएको कृषि उपज बिचौलियाले बाटैमा रोकेर सस्तो मूल्यमा खरिद गरेर आफ्नो पसलमा ल्याएपछि महङ्गोमा बिक्री गर्ने गरेको उपभोक्ताको आरोप छ ।
क्रेता र बिक्रेताबीच प्रत्यक्ष कारोबार हुँदा दुवैलाई फाइदा हुने भएकाले दिक्तेलमा लाग्ने हटियाको समय परिवर्तन गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभयो । “लामो समयदेखि आफूखुशी लाग्दै आएको हटिया नगरपालिकाको पहलमा बिहान सात बजेबाटमात्र शुरु हुने कुराले क्रेता तथा बिक्रेतासमेत खुशी भएका छन् । यसलाई कार्यान्वयन गर्न धेरै चुनौति छ”, उहाँले भन्नुभयो, “कार्यान्वयन भएनभएको विषयमा हामी निरन्तर अनुगमन गर्छौँ । अहिले सीमित व्यक्तिले फाइदा उठाइरहेका छन् । नगरपालिकाको कार्यान्वयनमा आएपछि क्रेता तथा बिक्रेता दुवैलाई प्रत्यक्ष फाइदा हुन्छ ।”
हरेक बुधबार र शनिबार हप्ताको दुई दिन लाग्ने हटियामा जिल्लाका विभिन्न ठाउँबाट किसानहरुले कृषि उपज बिक्री गर्न ल्याउने गरेका छन् । जिल्लाको पुरानो हटिया हाटडाँडामा छिमेकी स्थानीय तहका किसानले समेत आफूले उत्पादन गरेको कृषि उपज बिक्रीका लागि ल्याउने गरेका छन् ।