खोटाङ, ७ मङ्सिर । सामुदायिक सेवा प्रतिष्ठान नेपालले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पाठेघर (आङ) खस्ने समस्य भएका महिलाको वर्षदिनसम्म निःशुल्क उपचार गरिदिने भएको छ । प्रतिष्ठानले गत शनिबार (मङ्सिर–२ गते)देखि लागू हुनेगरी वि.सं. २०८१ मङ्सिर–२ गतेसम्म नगरपालिकाका सबै पाठेघर खस्ने समस्या भएका बिरामीको निःशुल्क उपचारको व्यवस्था गरिदिने भएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई र प्रतिष्ठानका निर्देशक महादेव बानियाँबीच पाठेघर खस्ने समस्यामा परेका महिलालाई शिर मेमोरियल अस्पताल, बनेपा लगेर निःशुल्क उपचारको प्रबन्ध मिलाउने द्धिपक्षीय सम्झौता भएको छ । नगरपालिकाले पाठेघर खस्ने समस्या भएका महिलाको पहिचान गरेर अस्पतालसम्म पु¥याउने तथा अस्पतालमा लाग्ने परीक्षण, शल्यक्रीया, औषधि र खानाको व्यवस्था प्रतिष्ठानले गर्ने द्धिपक्षीय सम्झौता पत्रमा उल्लेख छ ।
नगरपालिकाबाट पाठेघर खस्ने समस्य भएका ३७ महिलालाई शल्यक्रीयका लागि बनेपा पु¥याइएको मौकामा नगरपालिका र प्रतिष्ठानबीचमा पाठेघर खसेका महिलाको निःशुल्क उपचारका लागि नौँ बुँदे सम्झौता गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभयो । “पाठेघर खस्ने समस्य भएका एक जना बिरामीलाई जिल्ला बाहिर लगेर स्वास्थ्य परीक्षण, शल्यक्रीया, औषधि उपचार, खाना र यातायात गरी रु ७० देखि रु ७५ हजार खर्च लाग्छ । नगरपालिकाकातर्फबाट वडावडामा पाठेघर खस्ने समस्याको पहिचानका लागि शिविर आयोजना गरेर पाठेघर सम्बन्धी समस्या पहिचान गर्ने, शल्यक्रीयाका लागि अस्पताल जानेआउने क्रममा बिरामी र कुरुवालाई लाग्ने दोहोरो यातायात खर्च व्यवस्था गर्ने सम्झौता पत्रमा उल्लेख छ”, उहाँले भन्नुभयो, “प्रतिष्ठानकातर्फबाट शल्यक्रीया शुल्क, बिरामी भर्ना, ल्याब परीक्षण, औषधि लगायत अस्पतालको सम्पूर्ण खर्च व्यवस्था गर्ने, भर्ना भएका बिरामी र एक जना कुरुवालाई बिहान बेलुकाको खाना बापतको खर्च दिने, आवश्यक प्राविधिक सल्लाह प्रदान गर्ने सम्झौता गरिएको छ । नगरपालिकाले सिफारिस गरेका २० जना स्वास्थ्यकर्मीलाई अस्पतालले पाठेघर खस्ने समस्य पहिचान सम्बन्धी तालिम दिने, आगामी फागुन÷चैतमा दिक्तेलमा आवश्यक उपकरण सहितका १५ जना विज्ञ टोली ल्याएर पाठेघर खस्ने समस्याको निःशुल्क परीक्षण गर्ने, कक्षा–९ देखि कक्षा–१२ सम्म अध्ययनरत किशोरीलाई पाठेघर खस्ने समस्यबाट जोगिन अपनाउनुपर्ने सावधानीको विषयमा प्रशिक्षित गराउने सम्झौता भएको छ ।”
गत मङ्सिर–२ गते नगरपालिकाबाट शिर मेमोरियल लगिएका पाठेघर खसेका ३७ जना बिरामीमध्ये १७ जनाको शल्यक्रीया भइसकेको छ । पाठेघर समस्या भएका ६२ जनामध्ये ३७ जनामात्र अस्पताल जान तयार भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिनुभएको छ ।
कतिपय बिरामीको शल्यक्रीया नगरी थेरापी गर्दा नै रोग निको हुने अस्पतालले जानकारी दिएको नगरपालिकाले जनाएको छ । कतिपयलाई भने श्वासप्रश्वास, फोक्सो, मुटु, प्रेसर लगायतको समस्या देखिएकाले तत्काल शल्यक्रीया गर्न नसकिएको स्वास्थ्य शाखा प्रमुख आचार्यले जानकारी दिनुभएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा पाठेघर खस्ने समस्यालाई महिलाले लाज र शरम मानेर लुकाउने गरेको पाइएको छ । जिल्लामा यौन शिक्षाका विषयमा खुलेर बोल्न नचाहने, समस्याहरु लुकाएर बस्ने अर्थात उपचारका बारेमा जानकारी नहुँदा पाठेघर खसेका महिला पीडादायी जीवन बिताउन बाध्य भएको पाइएको छ ।
गाउँघरमा लुकेर रहेका पाठेघर खस्ने समस्याप्रति सरोकारवाला निकायले समेत चासो नदेखिएको सामाजिक अभियान्ताहरुले बताएका छन् । पछिल्लो समय जिल्लाका दशवटै स्थानीय तहले पाठेघर खसेका महिलालाई सुविधायुक्त अस्पताल लगेर निःशुल्क उपचार गराउन थालेका छन् ।