काठमाडौँ, ९ मङ्सिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा आन्दोलनका लागि तीनकुनेमा पुगेका प्रसाईँका समर्थकहरूलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । प्रसाईंले शुक्रबारदेखि तीनकुने क्षेत्रमा आन्दोलन गर्ने तयारी गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा आन्दोलनका लागि प्रसाईंले अनुमति नलिएको बताएको छ । प्रहरीले ’शंकास्पद’ लागेका व्यक्तिहरूलाई मात्रै नियन्त्रणमा लिइएको बताएको छ ।
प्रसाईंलाई बिहीबार आन्दोलनका लागि प्रशासनले बल्खुस्थित त्रिवि परीक्षा नियन्त्रण कार्यालय नजिकै सडक तोकिदिएको थियो । प्रसाईंले आन्दोलनलाई निरन्तरता दिन खोजेका छन्। बिहीबार तीनकुने क्षेत्रमा नेकपा (एमाले) का भ्रातृ संगठनहरू युवा सङ्घ र अनेरास्ववियुले प्रदर्शन गरेका थिए ।