लालुपाते सहकारी बचत रकम ठगी प्रकरण : सौर्य एयरलायन्सका क्याप्टेन जोशीसहित चारजना पुर्पक्षका लागि कारागार चलान

Halesi Khabar
10.8k Shares

खोटाङ, २१ मङ्सिर । लालुपाते बहुउद्देश्यीय सहकारी संस्था खोटाङको बचत रकम ठगी प्रकरणमा सौर्य एयरलायन्सका क्याप्टेन सुनिल जोशीसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । सहकारीका तत्कालीन अध्यक्ष (मृतक) अनिल जोशीका सहोदर भाइ क्याप्टेन सुनिल, सुनिलका श्रीमती रविना जोशी (श्रेष्ठ), प्रबन्धक रुकु जोशी र ऋणी जसुदा पौडेल खोटाङ जिल्ला अदालतका न्यायाधीश सुभाषबाबु गिरीको आदेशमा बिहीबार साँझ कारागार चलान भएका हुन् ।

सुनिल र सुनिलकी श्रीमती रविना गत असोज–१३ गते काठमाडौँस्थित उनीहरुको घरैबाट पक्राउ परेका थिए । उनीहरुमध्ये सुनिलले सहकारीको रकममा खरिद गरिएको जग्गा आफ्ना नाममा पास गरेको तथा रविनाले रु दुई करोड ३५ लाख बचतकर्ताको रकम अपचलन गरेको अदालतको ठहर छ ।

तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा सहकारीबाट लाखौँ ऋण लगेको तर, फिर्ता नगरेको भन्दै परेको किटानी जाहेरीका आधारमा पोखराकी जसुदालाई प्रहरीले गत कातिक–१५ गते चितवनबाट पक्राउ गरेको थियो । उनीसहित तत्कालीन अध्यक्ष जोशीका परिवारविरुद्ध सञ्चालक समितिले गत फागुन–२ गते प्रहरीमा उजुरी दिएको थियो ।

तत्कालीन प्रबन्धक जोशीले तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा बचतकर्ताको करौडौँ रकम अपलचन गरेको अदालतले दिएको थुनछेक आदेशमा उल्लेख छ । प्रबन्धक जोशीलाई सञ्चालक समितिको जाहेरीको आधारमा गत असोज–१७ गते काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सहकारीका लेखा समिति संयोजक प्रितम श्रेष्ठ र कोषाध्यक्ष रमा शाक्य रु दश÷दश लाख तथा उपाध्यक्ष अर्जुन चौलागाँई र सचिव मनोज राई रु पाँच÷पाँच लाख धरौटीमा रिहा हुनुभएको छ । लेखापाल सुमना राईलाई अदालतबाट रु दश लाख धरौटी तोकिए पनि बुझाउन नसक्दा कारागार चलान भएको प्रहरीले जनाएको छ ।

बचतकर्ताको लगानी डुबाएको भन्दै जाहेरी परेपछि सहकारीको सञ्चालक समितिका उपाध्यक्ष चौलागाईँ, सचिव राई, कोषाध्यक्ष शाक्य, लेखा समिति संयोजक श्रेष्ठ र लेखापाल राईलाई प्रहरीले कातिक–१२ गते पक्राउ गरेको थियो । सञ्चालक समितिका पदाधिकारी पक्राउ गर्नुभन्दा महिना दिनअघि ऋणीहरुलाई प्रहरीले पक्राउ गरेपनि अनुसन्धानमा असर गर्ने भन्दै उनीहरुको नाम सार्वजनिक गरेको थिएन ।

प्रहरीले पक्राउ परेका नौँ जनालाई सङ्गठित अपराधमा मुद्दा चलाउने भन्दै ६० दिनसम्म हिरासतमा राखेर सरकारी वकीलको कार्यालयमा राय प्रतिवेदन बुझाएको थियो । प्रहरीले सङ्गठित अपराध अन्तरगतको राय प्रतिवेदन बुझाए पनि सरकारी वकीलले ठगी मुद्दाको अभियोगपत्र तयार गरेर अदालतमा बुझाएको हो ।

बचतकर्ताको रकम ठगी प्रकरणमा सञ्चालक समितिका पदाधिकारी, ऋणी र तत्कालीन अध्यक्ष जोशीका परिवारका सदस्यगरी ३५ जना प्रतिवादी रहेको श्रेस्तेदार सीताराम खड्काले जानकारी दिनुभयो । “बचतकर्ता पदम कुमारी सैंजुसमेत २६५ जनाको जाहेरीमा सरकारी वकीलले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम रु चार करोड ४० लाख ६१ हजार १८ बिगो मागदाबीसहित अभियोगपत्र अदालतमा दर्ता गराएका थिए”, उहाँले भन्नुभयो, “प्रतिवादीमध्ये २६ जना फरार सूचीमा रहेका छन् । उनीहरु आफै पनि अदालतमा हाजिर हुनसक्छन् । यदि हाजिर नभएको खण्डमा प्रहरीको सयोगमा पक्राउ गरेर ल्याइन्छ ।”

तत्कालीन अध्यक्ष जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण २०७८ वैशाख–१५ गते पोखरामा निधन भएको थियो । जोशीको निधनपछि निक्षेपकर्ताहरु निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार तथा हिसाब हेर्नेक्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो ।

तत्कालीन जोशीको निधनपछि वि.सं. २०७८ वैशाख–१६ गतेदेखि सहकारीको कारोबार ठप्प छ । सहकारीबाट ऋणीलाई रु २५ हजारदेखि रु ९९ लाखसम्म ऋण दिइएको देखिएको जिल्ला सरकारी वकीलको कार्यालयले जनाएको छ । त्यसमध्ये २४ जनालाई सहकारीको नियम मिचेर ऋण प्रवाह गरेको पाइएको जनाइएको छ ।

चार जनालाई तमसुक बिनै ऋण दिएको पाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभएको छ । “सहकारीको नियम मिचेर मनोमानी गरेकै कारण सहकारी सङ्कटमा फसेको देखिएको छ । सहकारीको निक्षेप रु चार करोड ४७ लाख ५७ हजार २२१, शेयर पुँजी रु ५१ लाख १४ हजार ७८१, जगेडा कोषमा रु १९ लाख ५८ हजार ४९२ र संस्थागत कोषमा रु २४ लाख ८६ हजार ५६४ देखिन्छ”, उहाँले भन्नुभयो, “रु चार करोड ९० लाख ९७ हजार ३९३ तिर्नुपर्ने देखिएको छ । वित्तीय अवस्था हेर्दा सहकारी ‘डुबेको’ छैन ।”

सहकारीको नाममा हलेसीमा रु ४८ लाखमा खरिद गरिएको ६ रोपनी ३ आना १ पैसा १ दाम (दुई कित्ता) जग्गा तत्कालीन अध्यक्ष जोशीको भाइ क्याप्टेन सुनिलको नाममा पास गरेको पाइएको छ । सहकारीको नाममा जग्गा किन्ने निर्णय गरेर तत्कालीन अध्यक्ष जोशीको मिलेमतोमा व्यक्तिको नाममा पास गरेको पाइएको प्रहरीले जनाएको छ ।

तत्कालीन व्यवस्थापक जोशीको नाममा राखिएको बाम्राङको १६ रोपनी (तीन कित्ता) जग्गा सहकारीको नाममा ल्याइसकिएको पाइएको छ । लालुपाते सहकारी सङ्कटमा फसेको विषयमा अनुसन्धान अघि बढाएको प्रहरीले ऋण तिर्नका लागि सूचना जारी गर्दा तोकिएको समयभित्र पाँच जना ऋणीले रु १५ लाख १६ हजार फिर्ता गरेका छन् ।

तपाईको प्रतिक्रिया