खोटाङ, २२ मङ्सिर । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित लालीखर्कका युवा दिनेश तामाङले घरको पर्खालमा खोपा घार र काठको परम्परागत घार (डुँड) बनाएर मौरी पालन गर्नुभएको छ । वि.सं. २०६९ सालदेखि परम्परागत घार (खोपा र डुँड) बनाएर एपीसेरेना जातको मौरी पालन शुरु गर्नुभएका ३२ वर्षीय दिनेशले एक सिजनमा कम्तिमा १५० बोत्तल मह बिक्री गर्नुहुन्छ ।
ड्युको ५०० एमएलको बोत्तलमा भरिएको मह प्रतिबोत्तल रु एक हजार ५०० मा बिक्री गर्ने गरिएको दिनेश बताउनुभएको छ । हाल दिनेशको घरमा ३० वटा खोपा घार र १७ वटा काठको डुँड छन् । त्यसमध्ये अहिले ४० घारमा मौरी छन् ।
दिनेशले वर्षको दुई पटक जेठ र मङ्सिरमा मौरीको मह निकाल्ने गर्नुभएको छ । यस वर्ष गत कातिकदेखि हालसम्म १३५ बोत्तल मह बिक्री भइसकेको दिनेशले जानकारी दिनुभएको छ ।
“फोनबाट सम्पर्क गर्दै ग्राहक घरैमा आइपुग्छन् । कहिलेकहीँ मह खोज्दै आउनेको भीड नै लाग्छ । महबाट आउने आम्दानीले नै छ जना (श्रीमती, तीन छोरी र एक छोरा)को परिवार चलिरहेको छ”, दिनेशले भन्नुभयो, “आगामी दिनमा थप घारहरु बिस्तार गर्ने योजना छ । काठका लागि स्थानीय सामुदायिक वनसँग कुरा गरिसकेको छु ।”
मह काढ्ने सिजन भएपछि दिनेश तस्वीर र भिडियोसहित सम्पर्क नम्बर फेसबुकमा राख्नुहुन्छ । ग्राहक त्यही सम्पर्क नम्बरमार्फत मह किन्न पुग्छन् । मध्यपहाडी राजमार्गको मुढेबाट करिब पाँच मिनेटमाथि रहेको दिनेशको घर पुग्ने कच्ची सडक बनिसकेको छ ।
व्यवसायिक मौरी पालनका लागि दिनेशले पुरानो घरको पर्खालमा दश खोपा घार र नयाँ घरमा २० वटा खोपा घार बनाउनुभएको छ । “घर बनाउने क्रममै काठको खोपा बनाएर पर्खालमा लहरै मिलाएर राख्नुपर्ने हुन्छ । डुँड घारलाई भने पानीले नभेट्नेगरी घरको छानामुनि राख्नुपर्छ”, उहाँले भन्नुभयो, “कतिपय डुँडलाई बाहिर बारीको कुनामा छाना हालेर राखिएको छ । शौचालयको पर्खाललाई समेत खोपा घारको रुपमा उपयोग गरेको छु । लेकाली भेगमा हुने मौरीले आधुनिक घारभन्दा यसैलाई रुचाउँछ ।”
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित गैरीगाउँ पुगेका बेला घरको भित्ता र काठको डुँडमा मौरी पालन गरेको देखेपछि आफूले पनि शुरु गरेको दिनेशले बताउनुभयो । नुनथलामा देखेपछि आफ्नो घर बनाउने क्रममा आफूले पनि सोही अनुसार घरको भित्तामा खोपा घार र काठको डुँड बनाएर मौरी पालन शुरु गरेको उहाँले बताउनुभएको छ ।
व्यवसायिक मौरी पालनका लागि सीप सिक्न गोदावरीसम्म पुगेको दिनेशले जानकारी दिनुभएको छ । “मावली घरमा देखेर त्यस्तै खालको घारहरु बनाएँ । नभन्दै मौरी आफै घार खोज्दै आएर बस्यो । मौरी बढ्दै गयो । अरु काम गर्न उत्साह जगायो”, उहाँले भन्नुभयो, “धोद्रो भएको रुख काटेर घारहरु थप गर्दै गएँ । अहिले यसैबाट गुजारा चलिरहेको छ । दातृ निकायको सहयोग पाए थप बिस्तार गर्ने योजनामा छु ।”
लालीखर्कस्थित दिनेशको घरभन्दा केही माथि घना जङ्गल छ । जङ्गलमा चुत्रो, चिराइतो, पात्ले, मान्द्रे, ठेकीफल लगायतका मौसमी फूल फुल्छन् । त्यही कारण पनि दिनेशलाई मौरी पालनका लागि सहज भएको छ ।
पछिल्लो समय मौरी पालनका लागि जताततै आधुनिक घार प्रयोगमा आइसकेको छ तर, दिनेशले हालसम्म आधुनिक घार प्रयोग गर्नुभएको छैन । लेकमा आधुनिक घार चिसो हुने र मह कम निकाल्ने भएकाले आधुनिक घार प्रयोग नगरेको दिनेशले बताउनुभयो ।
अहिले सरकारी अनुदान लिनका लागि बन्नेहरुको कमी छैन । दिनेशले भने हालसम्म कहीँकतैबाट अनुदान लिनुभएको छैन । आफ्नै बलबुतामा मौरीसँग रमिरहनुभएको छ ।
“नक्कली किसानले अनुदान पाउँछ, अनुदानका लागि एक पटक घरेलु पुगेको थिएँ । समूह बनाएर आउनु भन्यो, त्यसपछि गइनँ”, दिनेशले भन्नुभयो, “अनुदानको सही सदुपयोग भइरहेको छैन । मौरी पालनलाई थप बिस्तार गर्ने योजना छ । ३० वटा खोपा घार हुने गुवाली बनाउने योजना बनाएको छु ।”
चार वर्षअघि मुढेमा हिमपात हुँदा दिनेशको ३६ घार मौरी सखाप भएको थियो । मौरी नै नरहेपछि कतिपय घारहरु चिरेर दाउरा पोल्नुभएका दिनेशले घारहरु सफा गरेपछि पुनः आफै मौरी आएको बताइएको छ ।
भारतीय सेनाका पेन्सनरका छोरा दिनेशले बुबाको पदचापलाई पछ्याउनुभएन बरु कृषि पेशातिर लम्किरहनुभएको छ । दिनेशका बुबा मानबहादुर तामाङको गत वर्ष नै मृत्यु भइसकेको जनाइएको छ ।