सम्बन्ध बिच्छेद गरेर माइती घर बसेकी पवित्राको शव पत्करभित्र भेटियो

Halesi Khabar
2.8k Shares

खोटाङ, ४ पुस । तेह्र दिनदेखि बेपत्ता बनेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित नाखामकी ३६ वर्षीय पवित्रा तामाङ मृत फेला परेकी छन् । गत मङ्सिर–१९ गतेदेखि बेपत्ता बनेकी पवित्रा घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा मृत फेला परेकी हुन् ।

पवित्राको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको प्रहरीले जनाएको छ । श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर माइती घर फर्केकी पवित्रा मङ्सिर–१९ गते राति आठ बजेसम्म टेलिभिजन हेरेर बसेकी थिइन् ।

भोलिपल्ट बिहान ओछ्यानमा नदेखिएपछि पवित्राको खोजी शुरु गरिएको आफन्तले बताएका छन् । बेपत्ताको खोजीका लागि परिवारले मङ्सिर–२३ गते प्रहरीलाई खबर गरेका थिए ।

चार छोरीकी आमा पवित्रा छोरा नजन्माएको भन्दै श्रीमानसँग खटपट भएपछि नौँ महिनाअघि सम्बन्ध बिच्छेद गरेर माइती घर फर्किएकी थिइन् । तीन छोरी श्रीमानसँगै छाडेकी पवित्रा कान्छी छोरी लिएर माइती घर बस्दै आएकी थिइन् ।

पवित्राको शव पत्करले छोपेको अवस्थामा मङ्गलबार फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीले जानकारी दिनुभएको छ । पवित्राको शव शंकास्पद अवस्थामा भेटिएकाले घटनाको विषयमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाका अनुसार पवित्राको बलात्कारपछि हत्या भएको अनुमान गरिएको छ । पत्करले छोपेर राखिएको अवस्थामा मृत फेला परेकी पवित्राको भित्री बस्त्रसमेत च्यातिएको भेटिएको प्रहरीले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया