नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन खोटाङको अध्यक्षमा ढकाल चयन

Halesi Khabar
1.9k Shares

खोटाङ, ७ पुस । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन खोटाङको अध्यक्षमा गुरुप्रसाद ढकाल निर्विरोध चयन हुनुभएको छ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा शनिबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले ढकालको अध्यक्षतामा १६ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको हो ।

जिल्ला कार्यसमितिको उपाध्यक्षमा सीताराम श्रेष्ठ, सचिवमा रञ्जन खड्का, सहसचिवमा सन्तोष बस्नेत र कोषाध्यक्षमा विश्वराज मगर चयन हुनुभएको छ । समितिको सदस्यहरुमा हर्कबहादुर दर्जी, सन्जीव गुरुङ, भद्रबहादुर विश्वकर्मा, सुनिल विश्वकर्मा, अर्जुन राई, लीलानाथ दर्जी, उमेश राई, होमकिशोर कसजु, केदार आचार्य, खगेन्द्र भट्टराई र चन्द्रबहादुर श्रेष्ठ चयन हुनुभएको छ ।
अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले सडक सुरक्षाका लागि सरोबारवाला निकायहरुले संयुक्त अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । “सडक दुर्घटनामा परी विश्वमा प्रत्येक सेकेन्डमा एकजना मानिसको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । यसलाई हेर्दा प्रत्येक दिन विश्वमा तीन हजार ५०० मानिसको मृत्यु सडक दुर्घटनाबाटै भएको देखिन्छ”, उहाँले भन्नुभयो, “सडक दुर्घटना विभिन्न कारणले हुने गरेको छ । सबैभन्दा बढी भौतिक, मानवीय, यान्त्रिक र पर्यावरणीय कारणले दुर्घटना भएको देखिन्छ । यसलाई न्यूनीकरण गर्न ‘सडक सुरक्षा संयुक्त अभियान–२०८०’ सञ्चालन गर्ने तयारी गरेका छौँ ।”
अभियानका क्रममा सडक सुरक्षा सम्बन्धी अनुशिक्षण सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष ज्वालाले जानकारी दिनुभएको छ । चालक तथा सहचालक, ट्राफिक प्रहरी, विद्यालय तथा कलेजका विद्यार्थी, हाटबजारका स्थानीय बासिन्दा लगायतलाई लक्षित गरेर सञ्चालन गरिने अभियानका लागि प्रदेशस्तरीय कार्यदलसमेत गठन गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया