हलेसीमा सञ्चालित निःशुल्क आँखा शल्यक्रिया शिविरमा ५९० जनाले लिए सेवा

Halesi Khabar
154 Shares

खोटाङ, ७ पुस । हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित तीन दिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९१ जनाको आँखा शल्यक्रिया (अप्रेशन)मार्फत उपचार गरिएको छ । त्रिधार्मिकस्थल हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालय हलेसीमा बिहीबारदेखि शनिबारसम्म सञ्चालन गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९१ जनाको शल्यक्रियामार्फत उपचार गरिएको हो ।

निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया गरिएका ९१ जनामध्ये ६४ जनाको मोतीयाविन्दुको शल्यक्रिया गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ । अन्य २७ जनाको आँखामा मासु पलाएको तथा मासुको ढल्लो देखिएकाले सामान्य शल्यक्रिया गरिएको जनाइएको छ ।

तीन दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा ५९० जना सेवाग्राहीले निःशुल्क सेवा लिएका छन् । शिविरमा सहभागी ४०० बढीलाई निःशुल्क औषधि तथा १५० बढीलाई निःशुल्क चस्मा वितरण गरिएको नेपाल नेत्र ज्याति सङ्घ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभयो ।

शल्यक्रिया गरिएका ९१ जनालाई नै कालो चस्मा पनि निःशुल्क प्रदान गरिएको आयोजकले जनाएको छ । हलेसीमा लगातार दोस्रो वर्ष आँखा शिविर आयोजना गरिएको हो ।

शिविरमा आँखा उपचार गराउन हलेसी तुवाचुङ नगरपालिकासँगै छिमेकी पालिकाहरु रावाबँेसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका लगायत अन्य पालिकासँगै ओखलढुङ्गा, उदयपुर जिल्लाका सेवाग्राहीसमेत हलेसी आएका थिए । आँखाको समस्या भएका बृद्धबृद्धादेखि बालबालिकासम्मलाई परिवारका अन्य सदस्यहरुले शिविरमा लिएर आएका थिए ।

शिविरमा प्राविधिक सहयोग सगरमाथा चौधरी आँखा अस्पताल लाहानको रहेको छ । आँखाको समस्या भएका नागरिकहरुको सहजताका लागि हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योति सङ्घ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समितिले निःशुल्क आँखा शल्यक्रिया शिविर आयोजना गरेको हो ।

शिविरको बिहीबार हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले औपचारिक उद्घाटन गर्नुभएको थियो । आँखा शिविरको औपचारिक उद्घाटन गर्दै नगर प्रमुख राईले नगरपालिकाले नागरिकको स्वास्थ्य उपचारका लागि आँखा शिविरसँगै विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो ।

पाठेघरको समस्या भएका महिलाहरुको निःशुल्क शल्यक्रियादेखि नगर अस्पताल सञ्चालन गरेर बीमा गर्ने र बीमाको उपचार हुने व्यवस्था मिलाउनेसम्मको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको नगर प्रमुख राईले बताउनुभएको थियो । “हामी जनप्रतिनिधिहरु नागरिकको सेवक हौँ । कुन नागरिकलाई के समस्या छ त्यो ठम्याउन सक्नुपर्छ”, उहाँले भन्नुभयो, “नगरवासीको गाँस, वास र कपासँगै स्वास्थ्य र शिक्षामा समेत ध्यान दिएका छौँ । त्यो पुरा गर्ने कर्तव्य हाम्रो हो । हामी कसैलाई भोकै र कसैलाई बिना उपचार मर्न दिन्नौँ । हामी नागरिकको सेवामा प्रतिवद्ध भएर लागेका छौँ ।”

हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीमा अघिल्लो वर्ष भएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा ७६५ जनाले निःशुल्क आँखा परीक्षण गराएका थिए । जसमध्ये ७६ जनाको शल्यक्रियामार्फत उपचार भएको थियो ।

तपाईको प्रतिक्रिया