खोटाङ, ९ पुस । सिन्धुलीमा भएको सवारी दुर्घटनामा खोटाङका दुई युवाको मृत्यु भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ बोहोरेटारस्थित झाँगाझोली नजिकै सोमबार बिपरित दिशाबाट आइरहेको बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २० वर्षीय सुसल राई र मोटरसाइकलको पछाडि बसेका खोटाङकै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी १८ वर्षकी मुनाकला राईको मृत्यु भएको हो ।
काठमाडौँबाट खोटाङ आउँदै गरेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकललाई बिपरित दिशा (रामेछाप)बाट आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको बसले ठक्कर दिँदा मुनाकलाको घटनास्थलमै र सुसलको खाल्टेस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब निरीक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभएको छ । दुर्घटनापछि बसका चालक रामेछापको मन्थली नगरपालिका–१३ का २४ वर्षीय रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दा तथा यात्रुले बसमा आगजनी गरेर सडक अवरुद्ध पारेका थिए । स्थानीय बासिन्दा एवम् अन्य सवारी साधनका यात्रुले बस चालकको लापरवाहीले दुर्घटना भएको भन्दै चालकलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।
यातायातका सवारी साधनको निक्कै चाप हुने उक्त राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ आवतजावत गर्ने सवारी साधनहरु दुर्घटनास्थलमै लर्को लागेको थियो । दुर्घटनापछि आक्रोशित भिडले अवरुद्ध गरेको सडक करिब दुई घण्टापछि बिना सर्त खुलाइएको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि सिन्धुलीको सदरमुकाम सिन्धुली माडी पु¥याएको पाइएको डिकुवाका वडाध्यक्ष देवेन्द्र राईले जानकारी दिनुभएको छ । “दुर्घटना भएको थाहा पाएलगत्तै हलेसीबाट हिँडेका हामीहरु भर्खर घटनास्थल आइपुगेका छौँ । मृतक दुवैजनाको शव परीक्षणका लागि सिन्धुली माडी पु¥याइएको छ भन्ने जानकारी पाएका छौँ”, उहाँले भन्नुभयो, “शव भएको ठाउँमा पुग्न अझै समय लाग्छ । कुन सहमतिमा शव उठाइएको छ भन्ने थाहा छैन । त्यहाँ पुगेपछि यथार्थ बुझेर निर्णय लिन्छौँ ।”
मृतक सुसल र मुनाकला प्रेमी÷प्रेमिका रहेको मुनाकलाका ठूलो बुबा कृष्णप्रसाद राईले जानकारी दिनुभएको छ । “उनीहरुबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेछ ! सुसलले मोटरसाइकलसमेत मुनाकलाकै नाममा पास गरेका रहेछन्”, उहाँले भन्नुभयो, “मगनीका लागि सुसलको परिवार पाथेका आउने कुरासमेत भइसकेको भन्ने बुझेको थिएँ । दुर्घटनामा परी दुवैजनाको मृत्यु भएको खबरले स्तब्ध भएका छौँ ।”
पाँच वर्षअघि माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर काठमाडौँ बस्दै आएकी मुनाकला प्रेमी सुसलसँग घर आउनेक्रममा दुर्घटना भएको आफन्तले जनाएका छन् । खोटाङमै बस्दै आएका सुसल प्रेमिका मुनाकलालाई लिन आइतबारमात्रै काठमाडौँ गएको बुझिएको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट घर आउँदै गरेको अवस्थामा सवारी दुर्घटना हुँदा छोरा÷छोरीको बाटैमा मृत्यु भएपछि उनीहरुका आफन्त शोकमा डुबेका छन् । मृतक दुवै जनाको शव बुझ्न आफन्तहरु भर्खरै सिन्धुली पुगेको प्रहरीले जनाएको छ ।