किराँत समुदायको चाड ‘साकेला उँधौली’ : रुपाकोटमा भूमिको पूजा गर्दै साकेला नाचियो

Halesi Khabar
1.2k Shares

खोटाङ, १० पुस । किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आज (मङ्गलबार)देखि शुरु भएको छ । माझकिराँत भनेर चिनिने खोटाङका किराँत समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड मनाउने गरेका छन् ।

पन्ध्र दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका किराँत समुदायहरु रुपाकोटगढीमा भेला भएर किराँती पुर्खा÷धामीहरुले प्रकृतिको पूजा आराधना गरी उँधौली चाडको शुरुवात गरेका छन् । किराँत ऐतिहासिकस्थल रुपाकोटगढीमा पूजाआजा गरेर औपचारिक रुपमा शुरुवात गरिएको साकेला उँभौलीको अवसरमा आपसमा शुभकामना आदानप्रदानसमेत गरिएको दुमकिम खार्मीका उपाध्यक्ष दिलकुमार राईले जानकारी दिनुभयो ।

रुपाकोटगढीमा किराँती पुर्खा खारम्बु राजाले शासन गरेको इतिहास छ । उँभौलीमा आ–आफ्नो थुम (टोल)मा रहेको साकेला थानमा भेला भएर भूमिको पूजा गर्दै साकेला चाड मनाउने खार्मीका किराँत समुदायले उँधौलीमा भने एकै ठाउँ (रुपाकोटगढी)मा भेला भएर सामुहिकरुपमा भूमिको पूजा गर्दै मनाउने गरेका छन् ।

वर्षको दुई पटक मनाइने साकेला चाडको उँधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामल लगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किराँत राईहरुले बताएका छन् ।

साकेला उँधौलीको अवसर पारेर जिल्लाका ऐतिहासिक तथा पर्यटकीयस्थलहरु हलेसी तुवाचुङ नगरपालिकाको तुवाचुङ–जायाजुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोटगढी, मझुवागढी र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङ लगायत साकेला थानमा साकेला सिली नाच्ने चलन छ । उँधौली र उँभौलीमा किराँत राईहरुको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला नाच्ने गरिन्छ ।

छितको गुन्यु, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपी लगायत किराँती मौलिक भेषभुषामा सजिएर हरेक किराँत राईहरुको घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किराँत समुदायमात्र नभइ गैरकिराँत समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् । चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिएको छ ।

उँधौली तथा उँभौलीको अवसरमा किराँत समुदायले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायलेसमेत साकेला सिली नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध सँस्कृतिको रुपमा विकास भएको किराँत राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किराँतले बताउनुभयो । “साकेला चाडमा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदान÷प्रदान गर्ने गरिन्छ”, उहाँले भन्नुभयो, “साकेला चाडले जातीय, धार्मिक तथा साँस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्धन्द्धलाई निरुत्साहित गर्न भूमिका खेल्ने गरेको छ ।”

साकेला उँधौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङलगायत किराँत समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिएको छ । साकेला उधौली तथा उभौली किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रुपमा उधौली १५ तथा उभौली महिना दिनसम्म मान्ने गरेका छन् ।

अन्नबाली लगाउने समय अर्थात वैशाखे पूर्णीदेखि उँभौली र अन्न भित्र्याउने बेला अर्थात मङ्सिरे पूर्णीमादेखि उँधौली चाड मनाउने चलन छ । चराचुरुङगी बेंशीतिर झर्ने र लेकतिर जाने याममा मनाइने यो चाडमा आफन्तजन, चेलीबेटी लगायत भेला हुने र दुःख सुखका कुरा गर्ने चाडका रुपमा पनि लिइन्छ ।

साकेला उँधौलीको अवसर पारेर नेपाल सरकार, गृह मन्त्रालयले आज (मङ्गलबार) एक दिन सार्वजनिक विदासमेत दिएको छ । किराँत समुदायको उँधौली साकेला, योमरी पुन्हि–ज्यापू दिवस (धान्य पूर्णिमा)को अवसरमा सार्वजनिक दिएको हो ।

 

तपाईको प्रतिक्रिया