खोटाङ, ११ पुस । खोटाङ यातायात प्रा.लि.ले दिक्तेल बजारबाट सोलुखुम्बुको जुबुस्थित सुकेपोखरीसम्म सिधा बस सेवा शुरु गरेको छ । दिक्तेलबाट जालपा–ऐसेलुखर्क हुँदै सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाको लोखिम–जुबु–लुहारे हुँदै सुकेपोखरीसम्म सिधा बस सेवा शुरु गरेको हो ।
दिक्तेल बजारबाट जुबुको सुकेपोखरी पुगेको बस चालकलाई मङ्गलबार जनप्रतिनिधि तथा स्थानीय बासिन्दाले खादा ओढाएर स्वागत गरेका थिए । दिक्तेल–सोलु सडकखण्डमा बस सञ्चालनका लागि गरिएको परीक्षण सफल भएसँगै दिक्तेल बजारबाट दैनिक दिउँसो ३ बजे बस छुटाउने व्यवस्था मिलाइएको यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभएको छ ।
दिक्तेलबाट बस चढेर सुकेपोखरी आवतजावत गर्न एकतर्फीको लागि जनही रु एक हजार १०० भाडासमेत निर्धारण गरिएको यातायत प्रा.लि.ले जनाएको छ । दिक्तेल बजारबाट करिब सात घण्टाको यात्रापछि सोलुखुम्बुको जुबुस्थित सुकेपोखरी पुग्न सकिने महासचिव हिङमाङले जानकारी दिनुभएको छ ।
दिक्तेल–सोलु सिधा बस सेवा शुरु भएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । लामो समयदेखि भारी बोकेर पैदल यात्रा गर्दै आएका उनीहरु नियमितरुपमा सिधा बस सेवा शुरु भएपछि हर्षित भएका हुन् ।
जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको सोलुखुम्बुस्थित जुबुबासीसँग नातादेखि आर्थिक बारोबारसम्मको सम्बन्ध छ । उत्तरी क्षेत्रमा उत्पादित अधिकांश कृषि उपज ऐसेलुखर्क बजार हुँदै सोलुखुम्बुको जुबु निर्यात हुने गरेको छ ।
ऐसेलुखर्कमा हरेक शनिबार हटिया लाग्ने गर्दछ । हटियाका अधिकांश सेवाग्राही सोलुखुम्बुको जुबु, सुकेपोखरी लगायतका स्थानीय बासिन्दा हुने गरेका छन् ।
यसैबीच, जिल्लाका सबै स्थानीय तह सदरमुकाम दिक्तेलसँग सिधा यातायात सञ्जालमा जोडिएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै ग्रामीण सडकहरु मर्मत गरिएसँगै सिधा यातायात सञ्जालमा जोडिएका हुन् ।
जिल्लाका कतिपय स्थानीय तहबाट राजधानी काठमाडौँ तथा तराईका विभिन्न जिल्लासँग समेत सिधा यातायात सञ्चालमा जोडिएका छन् । ऐसेलुखर्क, रावाबेँसी, खोटेहाङ, साकेला लगायतका स्थानीय तहहरुबाट सिधै काठमाडौँ तथा तराईका विभिन्न जिल्लाहरुमा यातायात सञ्चालन गरिएको यातायात व्यवसायीहरुले बताएका छन् ।
जिल्लाका ग्रामीण सडकहरु कच्ची अवस्थामा रहेकाले हिउँदको समयमा मात्र यातायात सञ्चालन हुने गरेको छ । वर्षा शुरु भएसँगै यातायात अवरुद्ध हुने ग्रामीण सडकको दीर्घकालीन समस्या समाधानका लागि हालसम्म कसैबाट पहल भएको छैन ।
स्थानीय तहहरुले सदरमुकाम दिक्तेलसँग जोड्ने सडकलाई प्रमुख प्राथमिकतामा राखेपनि प्रयाप्त बजेट विनियोजन गर्न नसक्दा स्तरोन्नति भएका छैनन् । सदरमुकाम दिक्तेलसँग जोड्ने सडकलाई स्तरोन्नति गर्नका लागि पालिकामा आउने कूल बजेट पुरै विनियोजन गर्दा पनि सम्भव नहुने जनप्रतिनिधिहरुले बताउने गरेका छन् ।