राज्यको नजरमा नपरेको भरङ्गे : चुनावमा भोट माग्नसमेत पुग्दैनन् नेताहरु

Halesi Khabar
133 Shares

खोटाङ, १४ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा पर्ने भरङ्गे सम्पर्कका हिसाबले नितान्त एकान्त ठाउँमा पर्दछ । सबैतिरबाट अपायक पर्ने ठाउँमा रहेकै कारण भरङ्गेमा जो कोही मानिस हत्तपत्त पुग्दैनन् ।

कतिसम्म भने चुनावका बेलासमेत उम्मेदवारहरु भोट माग्न भरङ्गे पुग्दैनन् । “चुनावका बेला भोट माग्न उम्मेदवार त के ? नेताहरुसमेत आउँदैन । यो ठाउँमा उम्मेदवारका लागि भोट माग्न हाम्रै दाजुभाइहरु आउँछन् । यहाँ भोट दिनु, त्यहाँ भोट दिनु भनेर फर्कन्छन्”, स्थानीय वीरबहादुर तामाङले भन्नुभयो, “एघार घर परिवार बसोबास गरिएको हाम्रो गाउँ भरङ्गेको विकासमा अहिलेसम्म कसैले ध्यान दिएका छैनन् । यस विषयमा सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।”

मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडकखण्डको हुर्लुङबाट जालपा जाने सडक हुँदै कच्ची शाखा सडकबाट भरङ्गे पुगिन्छ । भरङ्गेमा ठूलाठूला डिलमा हिँड्नका लागि भ¥याङजस्तो खुड्किलो बनाइएका कारण पछिल्लो समय गाउँको नाम नै भरङ्गे रहन पुगेको स्थानीय बासिन्दाले बताएका छन् ।

साविकको दिक्तेल गाउँ विकास समिति–६ मुडेमा समेटिएको भरङ्गे हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माभित्र पर्छ तर, भरङ्गेलाई पूर्वाधार विकासले छुन सकेको छैन । विकासमा पछि परेको भरङ्गेमा ११ घर तामाङ समुदाय बसोबास गर्छन् ।

सोल्मास्थित वडा कार्यालय पुग्न उनीहरुलाई कम्तिमा पनि पैदल दुई घण्टा हिँड्नुपर्छ । भरङ्गेबासीले आफ्नै खर्चमा दुःख÷सुख आठ÷नौँ वर्षअघि विद्युत पु¥याएका छन् ।

वि.सं. २०७९ मा वडा कार्यालय सोल्माले विनियोजन गरेको रकमले भरङ्गे पुग्ने कच्ची सडक बनाइएको स्थानीय बाुिसन्दाले बताएका छन् । भरङ्गेबाट रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको गोपिनी जोड्ने सडक विस्तार गर्न बाँकी नै छ ।

लङ्खुरीबाट खानेपानी योजना ल्याउन भर्खरै नाँपजाँच भएको बताइएको छ । भरङ्गेमा एक दशकअघि जनसेवा समाज नेपाल जालपाबाट खानेपानी योजना सञ्चालन गरिएको थियो ।

हुर्लुङ–जालपा सडक निर्माणका क्रममा खानेपानी योजनाको पाइप क्षतविक्षत भएपछि भरङ्गे मा पुनः नयाँ योजना सञ्चालन गर्ने तयारी गरिएको छ । शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभूत आवश्यकतासँग जुधिरहेका भरङ्गेबासीका लागि अहिलेसम्म कुनै पनि योजना तथा परियोजना पुग्न सकेको छैन ।

आधारभूत तहकै पढाइका लागि भरङ्गेका छात्र÷छात्रा नुनथलाको हुर्लुङस्थित जनकल्याण प्राविमा पुग्छन् । जनकल्याण प्राविबाट कक्षा–३ पार गरेपछि उनीहरु मुढेस्थित सिद्धेश्वरी आवि निगाले पुग्छन् ।

आर्थिक अवस्था मजबुद हुने अभिभावकले बालबच्चलाई निजी विद्यालयमा लगेर पढाउँछन् । हाल जनकल्याण प्राविमा भरङ्गेका सातजना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक तीर्थ तामाङले बताउनुभयो ।

मावली घर भरङ्गे बस्दै आएका विवेक गुरुङ र सुविन तामाङ कक्षा–१ मा, विकास तामाङ र समीर तामाङ कक्षा–२ मा, शुष्मा तामाङ, सुमिना तामाङ र समिक्षा तामाङ कक्षा–३ मा पढ्छन् । भरङ्गेबाट जनकल्याण प्रावि पुग्न उनीहरुलाई करिब एक घण्टा समय लाग्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

भरङ्गेका बालबालिकाहरु नियमित स्कूल जाँदैनन् । घरैमा गएर सम्झाइ÷बुझाइ गर्दा पनि विद्यार्थीको उपस्थितिलाई नियमित गर्न नसकिएको शिक्षकहरु बताउँछन् ।

सिद्धेश्वरी आधारभूत विद्यालय निगालेमा भरङ्गेका चारजना विद्यार्थी अध्ययनरत रहेको विद्यालय प्रशासनले जनाएको छ । सुस्मिता तामाङ र स्मृति तामाङ कक्षा–८ मा, सुशिल तामाङ कक्षा–५ मा र सुवास तामाङ कक्षा–४ मा अध्ययनरत छन् ।

उनीहरुलाई भरङ्गेबाट निगाले आइपुग्न डेढ घण्टा समय लाग्ने गरेको प्रधानाध्यापक बिन्दा थापा बताउनुभएको छ । यस्तै, सिद्धेश्वरी आधारभूत विद्यालयमा तल्लो हुर्लुङका अप्सरा राई र संकल्प राई कक्षा–७ मा, प्रदिप राई कक्षा–६ मा, समिक्षा राई कक्षा–५ मा र अनमोल राई कक्षा–४ मा अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया