खोटाङ, १५ पुस । सिक्किममा पक्राउ पर्नुभएकी नेपाली भ्लगर उमा चाम्लिङलाई सिक्किम प्रहरीले स्वदेश फर्काएको छ । सिक्किममा भिडियो पोष्टमार्फत साम्प्रदायिक अशान्ति भड्काउने प्रयास गरेको आरोपमा पक्राउ पर्नुभएकी खोटाङकी भ्लगर चाम्लिङलाई सिक्किम प्रहरीले आइतबार नेपाल पठाएको हो ।
भ्लगर राईलाई सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाको सदस्य सिला राईले दायर गरेको एफआइआरको आधारमा सदर प्रहरीले एडिसन एसपी गान्तोकसँगको सहकार्यमा पुस–१४ गते नियन्त्रणमा लिएको इन्डिय टुडेले जनाएको छ । भ्लगर चाम्लिङलाई अदालतमा पेश गरेर पाँच दिन प्रहरी हिरासतमा राख्ने भनिए पनि परिस्थिति र सुरक्षा चिन्तालाई ध्यानमा राखेर नेपाल फर्काउने निर्णय गरिएको समाचारमा उल्लेख छ ।
द सिक्किम क्रोनिकलले प्रारम्भिक अनुसन्धान र बरामदको प्रकृया पुरा भएपछि चाम्लिङलाई नेपाल फिर्ता पठाइएको जनाइएको छ । भ्लगर चाम्लिङले पुस–१२ गते एउटा भिडियो पोष्ट गर्दै सिक्किमको लेगसेपमा पुस–१४ गते साकेला मनाउन उपस्थित हुन निमन्त्रणा गर्नुभएको थियो ।
यस्तै, यही पुस–१० गते सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङसँग खिचाएको तस्वीरसमेत आफ्नो फेसबुकमा पोष्ट गर्नुभएको थियो । सोही आधारमा भ्लगर चाम्लिङलाई प्रहरीले पक्राउ गरेको अनुमान गरिएको छ ।
सिक्किममा आगामी सन् २०२४ मा विधानसभा चुनाव हुँदैछ । सिक्किमको सत्तारोहणका लागि वर्तमान मुख्यमन्त्री एवम् सिक्किम क्रान्तिकारी चोर्चाका पिएस गोले र पूर्वमुख्यमन्त्री एवम् सिक्किम डेमोक्रेटिकफन्टका चाम्लिङ आमनेसामने हुँदै छन् ।
सिक्किम पुगेर त्यही विधानसभा चुनावका लागि पूर्वमुख्यमन्त्री चाम्लिङको पक्षमा मतदाता प्रभावित पार्न खोजेको आरोपमा भ्लगर चाम्लिङलाई पक्राउ गरिएको जनाइएको छ । घुमफिरका क्रममा सिक्किम पुग्नुभएकी भ्लगर चाम्लिङ केवल गोले र चाम्लिङ पक्षको चेपुवामा पर्नुभएको हो ।
भ्लगर चाम्लिङको गिरफ्तारीपछि सिक्किमका विभिन्न राजनीतिक सङ्गठनले विरोध गरेका थिए । यस्तै, नेपालका किरात राई समुदायले पनि निर्दोषलाई पक्राउ गरिएको भन्दै बिरोध जनाएका थिए ।