खोटाङ, १६ पुस । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँ प्रहरी थप गरेको छ । एक हवल्दार र चार जवान कार्यरत रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पुनः एकजना गाउँ प्रहरी सहायक निरीक्षक र पाँचजना जवान नियुक्त गरेको हो ।
गाउँ प्रहरी सहायक निरीक्षकमा रोजन राई र जवानहरुमा आशिष तामाङ, सन्दिप राई, रोशन खड्का, तुलसी बस्नेत र भिमचन्द्र राई छनोट भएका छन् । पुस–१३ गते सञ्चालन गरिएको स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्ती परीक्षण, लिखित एवम् अन्तरवार्ता चरणको खुला प्रतिष्पर्धात्मक परीक्षाबाट छनोट भएका छजना गाउँ प्रहरीलाई आज (पुस–१६ गते) नियुक्त गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको चारैतिर धेरैवटा नाका भएकाले प्रत्येक नाकामा गाउँ प्रहरी खटाएर राजस्व सङ्कलन गर्नका लागि जनशक्ति थप गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएस्पी चाम्लिङले जानकारी दिनुभयो । “गाउँपालिकाको धेरैवटा नाका छ । त्यही नाकाबाट गाउँपालिकाभित्रका विभिन्न कच्चा पदार्थहरु निकासी भइरहेका छन्”, उहाँले भन्नुभयो, “व्यवस्थित तरिकाले राजस्व उठाउने हो भने आन्तरिक राजस्व सङ्कलन दर पर्याप्त हुन्छ । त्यही काममा खटाउनेगरी जनशक्ति थप गरिएको हो ।”
गाउँपालिकाबाट निर्यात हुने कृषि उपज तथा वनजन्य सामग्री र उत्खनन् भएर जाने कच्चा पदार्थको राजस्वलाई व्यवस्थित तरिकाले सङ्कलन गर्नका लागि एकैसाथ छजना गाउँ प्रहरी भर्ना गरिएको जनाइएको छ । सात वडा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा नयाँ नियुक्तीसँगै एक गाउँ प्रहरी सहायक निरीक्षक, एक हवल्दार र नौँ जवानसहित गाउँ प्रहरीको सङ्ख्या ११ पुगेको छ ।
छनोट भएका गाउँ प्रहरीलाई आधारभूत तालिमपश्चात दर्जानी चिन्ह प्रदान गरेर काममा खटाउने तयारी गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभएको छ । “गाउँ प्रहरीले पालिकाबासीको सुरक्षासँगै राजस्व सङ्कलनका काम गर्नेछन् । उनीहरुलाई चौबीसै घण्टा ड्युटी (सुरक्षा)मा खटाउँछौँ”, उहाँले भन्नुभयो, “गाउँ प्रहरी परिचालन गरेपछि पालिकामा आपराधिक घटनासमेत न्यूनीकरण हुने अपेक्षा गरेका छौँ । पालिकाबासी नागरिकलाई शान्तिसुरक्षा दिनु हाम्रो कर्तव्य पनि हो ।”
दश स्थानीय तह रहेको जिल्लामा गाउँ तथा नगर प्रहरी नियुक्त गर्ने स्थानीय तहको सङ्ख्या दिप्रुङ चुइचुम्मा गाउँपालिकासँगै पाँच पुगेको छ । सबैभन्दा पहिले ऐसेलुखर्क गाउँपालिकाले गाउँ प्रहरी नियुक्त गरेको जिल्लामा क्रमशः हलेसी तुवाचुङ नगरपालिका, खोटेहाङ गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गाउँ तथा नगर प्रहरी नियुक्त गरेको छ ।
साकेला, केपिलासगढी, रावाबेँसी, बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाले अहिलेसम्म गाउँ प्रहरी नियुक्त गरेका छैनन् । यीमध्ये रावाबेँसी गाउँपालिकामा यस वर्ष गाउँ प्रहरी नियुक्त गर्ने बजेट तथा कार्यक्रम रहेको जनाइएको छ ।
जिल्लाका अन्य स्थानीय तहमा अहिलेसम्म बजेट तथा कार्यक्रम नै नरहेको पाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा नगर तथा गाउँपालिकाले स्थानीयस्तरमा छुट्टै नियमावली निर्माण गरेर आवश्यकता अनुसार नगर तथा गाउँ प्रहरी नियुक्त गर्न पाउने व्यवस्था छ ।