खोटाङ, १७ पुस । नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवम् वरिष्ठ पत्रकार हरिहर विरहीले नेपाली पत्रकारितालाई शुद्धीकरण गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । त्रिधार्मिकस्थल हलेसी हुँदै पूर्वी पहाडका जिल्लाहरुको भ्रमण गर्नेक्रममा मङ्गलबार खोटाङ आइपुग्नुभएका वरिष्ठ पत्रकार विरहीले जिल्लामा क्रियाशील पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा लोकतन्त्रपछि नेपाली पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा भएकाले शुद्धीकरण आवश्यक रहेको बताउनुभएको हो ।
वरिष्ठ पत्रकार विरहीले नेपालका केही पत्रकारहरुका कारण समाजमा नकारात्मक प्रभाव सिर्जना हुँदै गएको बताउनुभएको छ । “लोकतन्त्रपछि नेपाली पत्रकारितामा शुद्धता आउन सकेन । केही पत्रकारहरुका कारण समाजमा नकारात्मक प्रभाव सिर्जना हुँदै गएको छ । नेपाली पत्रकारितामा शुद्धता आवश्यक छ”, उहाँले भन्नुभयो, “पत्रकारिता पेशामा आवद्ध सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ । नैतिक मूल्यमान्यता कायम राख्नुपर्छ । नेपाली पत्रकारितालाई विश्वसनीय बनाउनुपर्ने अवस्था आएको छ ।”
नेपालको पत्रकारिता पेशाप्रति नेपाली जनमानसको विश्वसनीयता घट्दै गएको भन्दै उहाँले चिन्तासमेत व्यक्त गर्नुभएको छ । “नेपाल पत्रकार महासङ्घ तथा पेशागत सङ्घ÷सङ्ठनहरुले ध्यान दिन जरुरी छ । नेपाली पत्रकारिता पेशाप्रति जनमानसमा विश्वसनीयता घट्दै गएको छ”, उहाँले भन्नुभयो, “नेपाल पत्रकार महासङ्घ तथा पेशागत सङ्घ÷सङ्गठनले सङ्ख्यामा होइन, गुणस्तर वृद्धिमा ध्यान दिन जरुरी छ । पत्रकार स्वयम्ले पनि आफ्नो क्षमता वृद्धि गर्नुपर्छ ।”
नेपाली पत्रकारहरुले क्षमता, शुद्धता र विश्वसनीयता कायम राख्नसक्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । “पत्रकार भनेको समाजको अशल नागरिक हुन् भन्ने भावना आम मानिसमा प्रकट हुने किसिमको काम गर्न सक्नुपर्छ । प्रेस अभिव्यक्ति स्वतन्त्रता कायम राख्न सबै पत्रकार सङ्घ÷सङ्गठनहरु अग्रसर हुनुपर्छ”, उहाँले भन्नुभयो, “अबको पत्रकारिता युवा पुस्ताले हाक्नुपर्ने अवस्था आएको छ । क्षमता, शुद्धता र विश्वसनीयतालाई ध्यानमा राख्दै युवा पत्रकारहरु अगाडि बढ्नुपर्छ ।”
दिक्तेलस्थित होटल शुभदिनमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी कृष आचार्य, पत्रकार महासङ्घ खोटाङका पूर्व अध्यक्ष दमन राई, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हरिवोल आचार्य, नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाईँ लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो । जिल्लामा क्रियाशील पत्रकारहरुसँगको अन्तरक्रियापछि वरिष्ठ पत्रकार विरहीको टोली मङ्गलबार नै पर्यटकीयस्थल चलेवाभञ्ज्याङ हुँदै छिमेकी जिल्ला भोजपुर प्रस्थान गरेको छ ।