खोटाङ, १७ पुस । जन्तेढुङ्गा गाउपालिकाले वडा नं. ५ चिसापानीमा निर्माणाधीन १५ श्ययाको अस्पताल भवन निर्माणका क्रममा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग गरेको पाएपछि उक्त निर्माणाधीन संरचना भत्काउन ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । पेटी ठेक्कामा निर्माणको काम जिम्मा लिएका सिद्धगढी निर्माण कम्पनीका ठेकेदारले बढी नाफा कमाउने उद्देश्यले निर्माणाधीन अस्पताल भवनको जगमा गुणस्तरहीन गिटी तथा बालुवा प्रयोग गरेको अनुगमनका क्रममा पाएपछि मङ्गलबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त संरचना भत्काएर गुणस्तरीय काम गर्न निर्देशन दिएको हो ।
निर्माणाधीन अस्पताल भवनको लागि जग सम्याएर पिल्लर ठड्याउने काममा ठेकेदारले खुटा भन्ने ठाउँबाट बलौटे माटो ल्याएर प्रयोग गरिहेको स्थानीय बासिन्दाले आरोप लगाएपछि निर्माणाधीन संरचना भत्काएर पुनः गुणस्तरीय काम गर्न निर्देशन दिइएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिनुभएको छ । “करिब दुई वर्षअघि नै सम्पन्न गर्नुपर्ने निर्माणाधीन अस्पताल भवनको हाल पिल्लर ठड्याउने काममात्र हुँदै थियो । ठेकेदारको लापरबाहीले गुणस्तरहीन संरचना निर्माण भइरहेको रहेछ । हामीले कार्यपालिकाको बैठक नै बसेर भत्काउन निर्देशन दिएका हौँ”, उहाँले भन्नुभयो, “गाउँपालिकाको निर्देशन लगत्तै ठेकेदारले निर्माण सम्पन्न भएका संरचनाहरु भत्काउन थालेका छन् । गुणस्तरमा लापरबाही गर्ने ठेकेदारलाई निगरानीमा राखेका छौँ । अब बन्ने संरचना गुणस्तरीय हुने अपेक्षा गरिएको छ ।”
चिसापानीमा निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन वि.सं. २०७९ असार–२८ गतेभित्र निर्माणको काम सम्पन्न गरिसक्ने गरी वि.सं. २०७८ असार–२५ गते ड्रागन–रियर जेभीले ठेक्का सम्झौता गरेको थियो । तर, सो जेभी निर्माण कम्पनीले अस्पताल भवनको काम सिद्धगढी निर्माण कम्पनीलाई पेटी ठेक्कामा दिएको जनाइएको छ ।
निर्माणाधीन अस्पताल भवनमा कमसल सामान प्रयोग गरेको पाइएकाले यही पुस–११ गते पिसिसि ढलान भत्काउने मौखिक सहमति गरेपनि ठेकेदार कम्पनीले उक्त सहमति पालना नगरेको स्थानीय सुमन राईले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएको थियो । “गुणस्तरहीन काम भइरहेको जनगुनासो आएपछि हामी अनुगमनमा गएका थियौँ । ठेकेदार र गाउँपालिकाको इन्जिनियरको उपस्थितिमा गुणस्तरहीन तरिकाले निर्माण गरिएका संरचना भत्काउने सहमति भएको थियो”, उहाँले भन्नुभयो, “गुणस्तरहीन संरचना भत्काउने कुरा त होइन निरन्तर काम भइरहेको पाइयो । त्यहा न त गाउँपालिकाको प्राविधिक कै उपस्थिति छ न त जनप्रतिनिहरुको अनुगमन नै ! कमसल सामान प्रयोग गरेर निर्माण भैरहेको संरचना भत्काएर गुणस्तरीय समान प्रयोग गरी पुनः निर्माण गरियोस । हामी जनेढुङ्गाबासी उपभोक्ता सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछौँ ।”
निर्माणाधीन अस्पतालको जगमा पिसिसि ढलानका लागि ठेकेदार कम्पनी सिद्धगढी निर्माण कम्पनीले बारीको खानीको बालुवा मिसाएर प्रयोग गरेको पाइएको गाउँपालिकाका असिस्टेन्ट सबइन्जिनियर सुरेशकुमार मेहताले बताउनुभएको छ । “गाउँपालिकाकातर्फबाट ल्याब टेष्ट (गुणस्तर परीक्षण) नगरी प्रयोग नगर्न भने पनि ठेकेदारले मौका पारेर बारीको बालुवा मिसाएर प्रयोग गरेका रहेछन् । गुणस्तरमा शङ्का लागेपछि बारीबाट उठाइएको बालुवा र सावा खोलाको बालुवा ल्याब टेष्टमा पठाइएको थियो । ल्याब टेष्टमा बारीको खानीको बालुवा फेल भएको रिपोर्ट आएको छ”, उहाँले भन्नुभयो, “शुरुमा स्याम्पल देखाउनुभयो । ल्याब टेष्टमा पास भएमात्र ल्याउनु भनेका थियौँ । तर, ल्याएर प्रयोग गरेछ । हतार गएर बालुवा झार्न रोक लगायौँ । बीचमा अस्पताल भवनकै कामा काठमाडौँ जानुप¥यो । त्यहीबेला बालुवा मिसाएर चलाइदिएछ । यहीबाट समस्या आएको हो ।”
कुल रु २० करोड ७१ हजार ५९० मा निर्माण सम्पन्न हुने निर्माणाधीन अस्पताल भवन वि.सं. २०७७ मङ्सिर–१५ गते तत्कालीन प्रदेश सांसद (हाल प्रतिनिधिसभा सदस्य) रामकुमार राई ‘पासाङ’ले शिलान्यास गर्नुभएको थियो । निर्माणाधीन अस्पताल भवन निर्माणको काम ठेकेदार कम्पनीले तोकिएको समयमा सम्पन्न नगरेपछि पुनः अर्को म्याद थपको प्रकृया अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।