खोटाङ, १९ पुस । बैङ्किङ कसूर मुद्दामा फरार रहेकी दोलखाको शैलुङ गाउँपालिका–६ फस्कुकी सुनिता खड्कालाई जिल्ला प्रहरी कार्यालय खोटाङले ललितपुरबाट पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी निर्मला भुजेलको रु ३५ लाख २५ हजार रकम लिएर फरार भएकी खड्कालाई प्रहरी बृत सातदोबाटोको समन्वयमा जिल्लाबाट खटिएर गएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–१४ थसीखेलबाट पक्राउ गरेको हो ।
आरोपित खड्काले विभिन्न समयमा भुजेलको रु ३५ लाख २५ हजार रकम लगेर सोही रकम बराबरको खाली चेक दिएको भन्दै प्रहरीमा दिएको जाहेरीको आधारमा खड्कालाई पुस–१७ गते ललितपुरबाट पक्राउ गरेर जिल्ला ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभएको छ । उदयपुरको चुहाडेमा जन्म भइ दोलखा घर भएकी ४१ वर्षीया आरोपित खड्का हाल काठमाडौँ महानगरपालिका–३१ मा कोठा लिएर बस्दै आएको बताइएको छ ।
आरोपित खड्काले पीडित भुजेलसँग विभिन्न समयमा विभिन्न प्रलोभन देखाएर मोटो रकम लगेको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ । खड्काले शुरुमा व्यक्तिगत समस्या देखाउँदै रकम लिएपनि पछिल्लो समय काठमाडौँमा सस्तो मूल्यमा घडेरी मिलाइदिने भन्दै साहुबाट ऋण लिएको रकम लगेको पीडित भुजेलले दिएको जाहेरीमा उल्लेख छ ।
आरोपित खड्काले लगेको रकम फिर्ता नभएपछि आफूले काढेको ऋण तिर्न समस्या भएको र साहुले पटकपटक घरमै आएर तनाव दिन थालेको भुजेलले बताउनुभएको प्रहरीले जनाएको छ । बैङ्क अफ काठमाडौँको चेक काटिदिएको र चेक साट्न जादा खड्काको बैङ्क खातामा रकम नभएको भन्दै भुजेलले गत मङ्सिर–७ गते दिएको जाहेरीको आधारमा जिल्ला अदालत खोटाङबाट यही पुस–१२ गते पक्राउ पुर्जी गरेर ललितपुरबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ परेकी आरोपित खड्कालाई जिल्ला अदालत खोटाङबाट पुस–१८ गते (हिजो) सात दिनको म्याद थप गरी हिरासतमा राखेर आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोतम खड्काले जानकारी दिनुभएको छ । “बैङ्किङ कसूर मुद्दामा जिल्ला प्रहरी कार्यालय खोटाङले खड्कालाई पक्राउ गरेर मुद्दा चलाएको यो नै पहिलो घटना हो । पहिलो मुद्दामा नै हामी सफल भएका छौँ”, उहाँले भन्नुभयो, “यसअघिसम्म बैङ्किङ कसूर सम्बन्धीका मुद्दा हेर्न जिल्ला अदालत खोटाङलाई अधिकार थिएन । जिल्ला प्रहरी कार्यालयमा परेको जाहेरी बिराटनगर पठाउने गरिएको थियो । हाल जिल्ला अदालत खोटाङबाटै बैङ्किङ कसूर सम्बन्धीका मुद्दाको सुनुवाइ हुने भएपछि जिल्ला प्रहरी कार्यालयमा आएको जाहेरी अनुसार प्रतिवादीलाई खड्कालाई पक्राउ गरिएको हो ।”
दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय बैङ्किङ कसूर सम्बन्धी उजुरी आउने पीडितको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएको प्रहरीले जनाएको छ । प्रहरीमा आएका अधिकांश बैङ्किङ कसूर सम्बन्धीका मुद्दा पीडित र पीडकबीचको लेनदेन हिसाब मिलान गरेर मिलापत्र हुने गरेको बताइएको छ ।