खोटाङ, २१ पुस । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र करुणा फाउन्डेसन नेपालबीच सम्झौता भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा शनिबार नगरपालिकाको तर्फबाट नगर प्रमुख तीर्थराज भट्टराई र फाउण्डेसनको तर्फबाट व्यवस्थापक सन्तोष घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतापत्रमा नगर उप प्रमुख विशन राई, फाउन्डेसनका वरिष्ठ कार्यक्रम अधिकृत गीता त्वानावासु, नगरका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार राई, अपाङ्ग सेवा सङ्घ नगर समितिका अध्यक्ष उमेशचन्द्र आचार्य र नगरपालिकाका पालिका संयोजक अनिता कोइरालाले रोहबरमा हस्ताक्षर गरेका छन् । नगरपालिकाको पूर्ण स्वामित्वमा सञ्चालन हुने कार्यक्रम आगामी माघ–१ गतेबाट लागू भएर वि.सं. २०८३ पुस मसान्तसम्म तीन वर्ष सञ्चालन हुने सम्झौतामा उल्लेख छ ।
कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका निम्ति काम गर्ने छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पालिका संयोजकमा फाउन्डेसनका तर्फबाट अनिता कोईराला छन् ।
यसैबीच, कार्यक्रमका अवसरमा नगरपालिकाको ५० प्रतिशत र फाउन्डेसनको ५० प्रतिशत लगानीबाट खरीद गरिएको वाद्यवादनका सामाग्रीहरु स्थानीय साईनो कला केन्द्रलाई हस्तान्तरण गरिएको छ । पछि दुई थान गितार उपलब्ध गराउनेगरी तीन थान गितार, एउटा हार्मोनियम, दुईवटा मादल, एउटा तबला, एक दर्जन बाँसुरी, सारङ्गी र किवोर्ड एक–एकवटा हस्तान्तरण गरिएको हो ।
फाउन्डेसनले यसअघि हलेसी तुवाचुङ नगरपालिका र बराहापोखरी गाउँपालिकामा यही कार्यक्रमको सम्झौता गरिसकेका छन् । जिल्लाका तीवटै स्थानीय तहमा उक्त कार्यक्रम तीन÷तीन वर्ष सञ्चालन हुने जनाइएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्रै एक हजार १८३ जना अपाङ्ग रहेका छन् । दश स्थानीय तह रहेको जिल्लामा चार हजार ९२२ जना शारीरिकरुपमा अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग सेवा सङ्घ खोटाङले जनाएको छ ।