आगलागीमा घर–गोठसहित ४५ वटा बाख्रा मर्दा रु २२ लाख बढीको क्षति

Halesi Khabar
280 Shares

खोटाङ, २५ पुस । खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा आगलागी हुँदा एउटा घर र दुईवटा गोठसहित ४५ वटा बाख्राखसी पूर्णरुपमा जलेर नष्ट भएको छ । खोटाङबजारको पुरानो गाउँस्थित तुलसीराम चौलागाइँको गोठबाट गएराति शुरु भएको आगोले ढुङ्गामाटोबाट बनेको दुईतले एउटा घर, दुईवटा गोठसहित ४५ वटा खसीबाख्रा जलेर नष्ट भएको हो ।

गएराति करिब ८ः १५ बजेको समयमा शुरु भएको आगो राति १२ बजेमात्र नियन्त्रणमा लिन सफल भइएको इलाका प्रहरी कार्यालय खोटाङ बजारका प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साहले बताउनुभयो । आगो नियन्त्रणमा लिन नसक्दा माटो र ढुङ्गाले बनेको दुईतले घर र दुईवटा गोठ पूर्णरुपमा जलेर नष्ट भएको जनाइएको छ ।

आगलागीमा घरसँगै नगद रु दुई लाख, अन्नपात, भाँडाकुडा, लत्ताकपडा लगायतका सबै बन्दोबस्तीका सामग्री जलेर नष्ट भएको पीडित चौलागाइँले बताउनुभएको छ । “गोठमा राखिएको ४५ वटा बाख्राखसी पनि आगोले जलेर मरे । स्थानीय र प्रहरीले गोठमै बाँधिएको एउटा भैँसी र एउटा पाडो भने बचाउन सफल भएका छन्”, उहाँले भन्नुभयो, “भैँसीको अर्को पाडोे जलेर मरेको छ । करिब १५० मुरी त अन्न मात्रै जलेको छ ।”

घर जलेर नष्ट भएपछि चौलागाइँको पाँचजनाको परिवार छिमेकीको घरमा बसिरहेको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयालले बताउनुभयो । ‘अहिले उहाँहरु छिमेकीको घरमा बसिरहनु भएको छ । घरमा एकजना बच्चा मात्र भएको बेला अर्कैले आगो लगाइदिएछ”, उहाँले भन्नुभयो, “बुबाआमा बेँसी खेतबाट काम गरेर घर आइनपुग्दै आगो लगाइएको रहेछ । गाउँकै सबै भन्दा राम्रो कृषकको हालसम्मको मिहिनेत जलेर नष्ट भएको छ । आगो नियन्त्रणको लागि दमकल पनि लगियो तर, सकिएन । त्यो समय गाउँमा प्रायः छोरा मान्छेहरु पनि सबै एउटा सिचाइँ योजनाका लागि गएका रहेछन् ।”

आगलागी पीडित चौलागाइँको परिवारलाई तत्काल र दीर्घकालीन व्यवस्थापन कसरी गर्ने भनेर विपद् व्यवस्थापन समितिको बैठक बसेर निर्णय गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिनुभएको छ । “आगलागी भएको खबर पाएसँगै घटनास्थलमा पुगेर फर्केका छौँ । चौलागाइँ परिवारको बिचल्ली भएको छ । गाउँपालिकाबाट कसरी सहयोग गर्न सकिन्छ भन्नेमा छलफल गर्दै छौँ”, उहाँले भन्नुभयो, “तत्काल कसरी उहाँहरुको व्यवस्थापन गर्ने र दीर्घकालीन कसरी गर्ने भनेर हामी लाग्छौँ । विपदमा परेका पीडित परिवारलाई सहयोग गर्न सबैले हातेमालो गर्न गाउँपालिकाबासीसँग अपिलसमेत गरेका छौँ ।”

आगलागीबाट चौलागाइँ परिवारको रु २२ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । चौलागाइँ परिवारको घर तथा गोठमा कोही व्यक्तिले आगो लगाइदिएको हुनसक्ने आशंकामा एकजनालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक साहले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया