खोटाङ, २७ पुस । सुस्त मनस्थितिकी युवतीलाई जबरजस्ती करणी गरेर फरार बनेको आरोपमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित कातिकेका २२ वर्षीय किरण राईलाई नेपाल प्रहरीले कतारबाट पक्राउ गरेको छ । शारीरिक रुपमा सुस्त मनोस्थितिकी युवतीलाई वि.सं. २०७९ चैत–१६ गते करणी गरेर गत वैशाख–४ गते कतार पुगेका आरोपित किरणलाई प्रहरीले कतारस्थित अलरवाबी कम्पनीको मार्केट काउण्टरमा सामान प्याकिङको काम गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
सुस्त मनस्थितिकी पीडित युवतीका आफन्तले गत असोज–१५ गते दिएको किटानी जाहेरीको आधारमा बीदोहा कतारको समन्वयमा फरार प्रतिवादी किरणलाई पक्राउ गरेर जिल्ला ल्याइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभएको छ । “जबरजस्ती करणीपछि वैदेसिक रोजगारीमा जाने बहानामा भागेर कतार पुगेका किरणलाई नौँ महिनापछि यही पुस–२५ गते कतार एअरलाईन्सको उडान नम्बर क्यूआर ६४४ बाट नेपाल ल्याइएको छ । उनले आफ्नो अपराध स्वीकार गरिसकेका छन्”, उहाँले भन्नुभयो, “अहिले प्रहरी हिरासतमा रहेका किरणविरुद्ध चार महिनाअघि जबरजस्ती करणी महल अन्तरगत मुद्दा दर्ता भएको थियो । अब कानून बमोजिम कारबाहीको प्रक्रिया अगाढि बढाउँछौँ ।”
नेपाल प्रहरी, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेर अनुसन्धान शुरु गरेको प्रहरीले प्रतिबादी किरणलाई जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएका टोलीले बिहीबार दिक्तेल ल्याएर जिल्ला अदालत खोटाङबाट बिहीबार नै दश दिनको म्याद थपगरी अनुसन्धान शुरु गरेका छ । हलेसी (क) नाम दिइएको सुस्त मनोस्थितिकी युवतीको शारीरिक रुप परिवर्तन हुँदै गएपछि प्रतिवादी किरणले करणी गरेर गर्भवती बनाएको खुलेको प्रहरीले जनाएको छ ।
सुस्त मनिस्थिति, नाबालिका तथा शारीरिक अपाङ्गता भएका व्यक्तिलाई जबरजस्ती करणी गरेको व्यक्तिमाथि चलाइने मुद्दामा दोषी ठहरिएका व्यक्तिलाई जन्मकैदसँगै आवश्यक जरिवाना र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने कानूनी व्यवस्था छ । आरोपित किरणलाई दुवै हुने सम्भावना रहेको कानून व्यवसायीहरुले बताएका छन् ।
जबरजस्ती करणीपछि गर्भवती बनेकी युवतीले केही समयअघि बच्चा जन्माइसकेकी छन् । सुस्त मनोस्थितिकी युवतीमाथि जबरजस्ती करणी भएको खुलेपछि आफन्तले प्रहरीलाई फस्ट इन्फरमेसन रिपोर्ट (एफआइआर) दर्ता गराएका थिए ।
एफआइआर लगत्तै जिल्ला प्रहरी कार्यालयको समन्वयमा एक संस्थाको सहयोगमा पीडितलाई काठमाडौँको एउटा सेफहाउसमा लगिएको थियो । सेफहाउसमा राखिएकै अवस्थामा पीडित युवतीले बच्चा जन्माएकी हुन् ।
पीडित सुत्केरी अहिले बच्चासहित सेफहाउसमै बसेकी छन् । एफआरआइ दर्ता गराएकोबेला पीडित युवती २७ हप्ता चार दिनकी गर्भवती रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङले इन्टरपोलमार्फत प्रतिवादी पक्राउ गरेको जिल्लामा यो पहिलो घटना हो । प्रनाउ खड्का प्रमुख भएर खोटाङ आउनुभएपछि जिल्लामा लामो समयदेखि अनुसन्धानमा रहेका मुद्दासमेत किनारा लाग्न थालेको छ ।
अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी पक्राउ अभियानमा जुटेको जिल्ला प्रहरी कार्यालय खोटाङले पछिल्लो छ महिनामा ५१ जना फरार प्रतिवादीलाई पक्राउ गरिसकेको छ । अदालतबाट दोषी ठहर भएका बाहेक चालु मुद्दाको न्याय सम्पादनमा समेत प्रहरीको सक्रियता प्रभावकारी रहेको जिल्लाबासीको प्रतिक्रिया छ ।