खोटाङ, २७ पुस । शहीद ठूलकुमार श्रेष्ठको २६ औँ स्मृति दिवस मनाइएको छ । वि.सं. २०५५ पुस–२७ गते तत्कालीन दङ्गा प्रहरीको गोली प्रहारबाट मारिनुभएका खोटाङका प्रथम शहीद श्रेष्ठको तस्वीरमा शुक्रबार माल्र्यापणका साथै विभिन्न कार्यक्रमगरी २६ औँ स्मृति दिवस मनाइएको हो ।
कोशी प्रदेशका पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शहीद श्रेष्ठले देश र जनताका लागि पु¥याउनुभएको योगदानको चर्चा गरिएको थियो । स्मृति दिवसमा सहभागी वक्ता नेताहरुले शहीद श्रेष्ठले पार्टी तथा देश र जनताका लागि गर्नुभएको योगदानको कदर वर्षमा एक पटक दिवस मनाएरमात्र पूरा नहुने बताएका छन् ।
शहीद ठूलकुमार श्रेष्ठ तत्कालीन नेकपा माओवादी खोटाङको संस्थापक नेता एवम् जिल्ला सचिवालय सदस्य हुनुहुन्थ्यो । सङ्गठन विस्तार तथा पार्टीको कामको सिलसिलामा उदयपुरगढी गाउँपालिका साबिकको तावाश्री गाविस बाहुनीडाँडा पुग्नुभएका शहीद ठूलकुमार श्रेष्ठलाई प्रहरीले गोली हानेर हत्या गरेको हो ।
शहीद श्रेष्ठको स्मृतिमा हरेक वर्ष जिल्लामा विभिन्न कार्यक्रमगरी दिवस मनाउने गरिएको छ । वि.सं. २०२० मङ्सिर–२६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पामा जन्मनुभएका शहीद श्रेष्ठको श्रीमतीसहित तीन छोरी छन् ।
दिक्तेलस्थित सरस्वती माविबाट एसएलसी तथा भोजपुर क्याम्पस भोजपुरबाट स्नातक उत्तिर्ण गर्नुभएका शहीद श्रेष्ठ शिक्षण पेशा छाडेर पार्टीमा लाग्नुभएको थियो । अन्याय र अत्याचारको विरुद्ध भूमिगत भएर राजनीतिमा लाग्नुभएका शहीद श्रेष्ठ साहित्यमा समेत राम्रो दखल राख्ने नेतामा पर्नुहुने जनाइएको छ ।