‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’को अध्यक्षमा पुनः सुरेशकुमार राई

Halesi Khabar
966 Shares

खोटाङ, २७ पुस । ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’ खोटाङको अध्यक्षमा सुरेशकुमार राई निर्विरोध चयन हुनुभएको छ । प्रतिष्ठानको प्रथम जिल्ला सम्मेलन तथा छैटौँ साधारणसभाले नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेश सचिवालय सदस्य राईलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

दिक्तेलस्थित प्रतिष्ठानको कार्यालय भवनमा शुक्रबार साँझ सम्पन्न सम्मेलन तथा साधारणसभाले उपाध्यक्षमा कान्ति श्रेष्ठ, महासचिवमा कृष्ण घिमिरे, सचिवमा जीवन राई ‘सँगिन’ र कोषाध्यक्षमा विष्णुकुमार राई ‘जिज्ञासा’लाई निर्विरोध चयन गरेको छ । पन्ध्र सदस्यीय जिल्ला कार्यसमितिमा एकजना पछि थप गर्नेगरी बम बानियाँ, प्रतिक कार्की, खगेन्द्र वन, युवराज मगर, सुवती राई, गमिता राई, उर्मिला लम्साल र बन्दना तामाङलाई सदस्यमा चयन गरेको जनाइएको छ ।

जिल्ला सम्मेलन तथा साधारणसभाले १९ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको प्रतिष्ठानले जनाएको छ । सल्लाहकार समितिमा पूर्वसांसाद एवम् नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’, संविधानसभा सदस्य एवम् माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती, पार्टीको केन्द्रीय सल्लाहकार समिति सदस्य जसराज किराँती, वैकल्पिक केन्द्रीय सदस्य ध्रुव बुढाथोकी ‘धिरन’, कोशी प्रदेश समिति उपाध्यक्ष देवान किराँती ‘पृथ्वी’, साहित्यकार डा. धनप्रसाद सुवेदी, टंक तामाङ ‘मदन’ लगायतका नेताहरु रहनुभएको छ ।

प्रतिष्ठानको संरक्षकमा संविभानसभा सदस्य एवम् नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य समिता कार्की ‘अस्मिता’ र शहीद ठूलकुमार श्रेष्ठकी श्रीमती शान्ता श्रेष्ठलाई चयन गरेको जनाइएको छ । वि.सं. २०७५ जेठमा स्थापना भएको ‘दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठान’ले जिल्लामा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया