अन्तरवडास्तरीय फुटबल प्रतियोगिता : आयोजक नेर्पा ‘बि’ र दोर्पाचिउरीडाँडा फाइनलमा

Halesi Khabar
154 Shares

खोटाङ, २७ पुस । नेर्पा स्पोर्टस क्लब नेर्पा खोटाङले आयोजना गरेको ‘नेर्पा भुलभुले अन्तरवडास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता’को दोस्रो संस्करणमा आयोजक नेर्पा ‘बि’ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा फाइनल प्रवेश गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको संसारीडाँडास्थित क्लबको आफ्नै खेलमैदानमा शुक्रबार भएको सेमिफाइनल खेलमा आयोजक नेर्पाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाबुवालुङलाई ४–१ र दोर्पाचिउरीडाँडाले साकेला गाउँपालिका–२ रतन्छालाई ४–१ ले हराउँदै फाइनल प्रवेश गरेको हो ।

यही पुस–२२ गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल भोलि पुस–२८ गते दिउँसो १ः०० बजेबाट सञ्चालन हुने आयोजकले जनाएको छ । सेमिफाइनलको खेलमा पराजित व्यहोरेको दोर्पाबुवालुङ र रतन्छाले सेमिफाइनलिष्टमा चित्त बुझाउन बाध्य भएको छ ।

जिल्लाका विभिन्न १८ वटा वडाका खेलाडी सहभागी प्रतियोगिताको विजेतालाई नगद रु एक लाख ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक नेर्पा स्पोर्टस क्लब नेर्पाका अध्यक्ष शरद राईले जानकारी दिनुभएको छ । प्रतियोगिताका उपविजेता टिमले नगद रु ७५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

‘खेलकुद हाम्रो सान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगिताका सेमीफाइनलिस्ट दुईवटा टिम (टोली)ले नगद रु २५÷२५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताका विद्यागत पुरस्कार अन्तरगत सर्व उत्कृष्ट खेलाडीले नगद रु पाँच हजार, बेस्ट कोच (उत्कृष्ट प्रशिक्षक)ले नगद रु दुई हजार ५००, सर्वाधिक गोलकर्ताले नगद रु चार हजार, बेस्ट डिफेन्डरले नगद रु दुई हजार ५००, बेस्ट स्ट्राईकरले नगद रु दुई हजार ५००, बेस्ट मिडफिल्डरले नगद रु दुई हजार ५००, उदयमान खेलाडीले नगद रु दुई हजार ५०० र उत्कृष्ट गोल रक्षकले नगद रु दुई हजार ५०० को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव वीरेन गुरुङले जानकारी दिनुभएको छ ।

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)को नियमअनुसार सञ्चालन गरिएको प्रतियोगिताको फाइनल खेल भोलि पुस–२८ गते सञ्चालन हुने आयोजकले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राई संयुक्तरुपमा उद्घाटन गर्नुभएको प्रतियोगिताको समापन प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’ले गर्नुहुने जनाइएको छ ।

प्रतियोगिता समापन कार्यक्रमको अवसरमा विभिन्न क्षेत्रमा रहेर नेर्पा र देशका लागि योगदान पु¥याउनुहुने नेर्पाका सातजनालाई सम्मान गरिने आयोजकले जनाएको छ । विद्यावारिधि प्राप्त गर्नुहुने डाक्टर धनप्रसाद सुवेदी र डाक्टर रमेश रिजाल, नेपाल सरकारका सहसचिव उद्धव रिजाल, अधिकृतहरु दीलकुमार खड्का, सीताराम राई र रामकुमार आचार्य तथा एकजना अग्रज खेलाडीलाई सम्मान गर्ने तयारी गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया