खर काट्न गएका वृद्धको भीरबाट लडेर मृत्यु

Halesi Khabar
1.4k Shares

खोटाङ, २८ पुस । खर काट्ने क्रममा भीरबाट लडेर खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित बरबोटेका खार्पाली कान्छा भनिने ६३ वर्षीय नरबहादुर भुजेलको मृत्यु भएको छ । घर नजिकै भुतेपहरा भनिने भीरमा शुक्रबार बिहान खर काट्न जानुभएका भुजेल आज (शनिबार) मृत फेला पर्नुभएको हो ।

मृतक भुजेल शुक्रबार बिहान खर काट्न भन्दै कचिया र नाम्लो लिएर घरबाट हिँडेपनि पुनः घर नफर्किएको पारिवारिक स्रोतले जनाएको छ । बेलुका अबेरसम्म घर नफर्किएका भुजेललाई स्थानीय बासिन्दा र प्रहरीले खोजी गर्नेक्रममा शनिबार बिहान भीरमुनि मृत अवस्थामा फेला पारेको स्थानीय बासिन्दा एवम् नेकपा एमाले खोटाङका सचिवालय सदस्य राजन बञ्जराले जानकारी दिनुभयो ।

मृतक भुजेलको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लाने तयारी गरिएको इलाका प्रहरी कार्यालय खोटाङबजारले जनाएको छ । एक छोरा र दुई छोरीका बुबा भुजेल छोराछोरीसहित श्रीमतीसँग बस्दै आएका थिए ।

श्रीमानको भीरबाट लडेर मृत्यु भएपछि वृद्धावस्थाका श्रीमती र छोराछोरीको बिचल्ली भएको स्थानीय बासिन्दाले बताएका छन् । भुजेल दम्पतीको जेठी छोरी भने विवाह गरेर पराइघर गइसकेको जनाइएको छ ।

तीन वर्षअघि आगलागी हुँदा घरगोठ गुमाएका भुजेल परिवार स्थानीय नारायणप्रसाद भट्टराईको घरमा आश्रय लिएर बस्दै आएका छन् । छिमेकीकामा बनीबुतो गरेर श्रीमतीसहित परिवार धान्दै आउनुभएका भुजेलको भीरबाट लडेर मृत्यु भएपछि परिवारको बिचल्ली भएको एमाले नेता बञ्जराले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया