यलदोङलाई राष्ट्रिय सम्वत घोषणा गर्न किरात राई साँस्कृतिक कलाकार सङ्घको माग

Halesi Khabar
91 Shares

खोटाङ, २८ पुस । किरात राई साँस्कृतिक कलाकार सङ्घ, केन्द्रीय कार्यसमितिले यलदोङ (यलम्बर सम्वत)लाई राष्ट्रिय सम्वत घोषणा गरी लागू गर्न सरकारसँग माग गरेको छ । किरात राई साँस्कृतिक कलाकार सङ्घले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाल देशको संस्थापक राजा यलम्बरको स्मृतिमा चलेको सम्वत यलदोङ (यलम्बर सम्वत)लाई राष्ट्रिय सम्वत घोषणा गरी लागू गर्न नेपाल सरकार समक्ष माग गरेको हो ।

लिच्छवि कालभन्दा अगाडि ३२ पुस्ता शासन गरेका किरातीका प्रथम राजा यलम्बरको स्मृतिमा स्थापित यलदोङ÷यले तङबे÷यलम्वर सम्वतलाई राज्यले राष्ट्रिय सम्वत घोषणा गरी लागू गर्नुपर्ने सङ्घका अध्यक्ष शालिक शातासक राईले बताउनुभयो । प्रथम किरात हाङ (राजा) यलम्बरलाई आधुनिक नेपालको संस्थापक राजाका रुपमा लिइन्छ ।

प्रथम हाङ यलम्बरलाई राष्ट्रिय विभुति घोषणा गर्न माग गरिएको किरात राई साँस्कृतिक कलाकार सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । “प्रत्येक माघ–१ गतेलाई यलम्बर जयन्तीका रुपमा मनाइ एक दिन सार्वजानिक बिदा दिने व्यवस्था गर्न, नेपाल देशको व्यवस्थित राज्य निर्माणको जग हाल्ने पहिलो राजा यलम्बर भएकाले माघ–१ गते यलम्बर दिवस मनाउने व्यवस्था गर्न माग गरेका हौँ । कुनै पनि समुदायको साल÷सम्वत, भाषा, लिपि, धर्म, सँस्कार, सँस्कृति, निजी हुँदैन”, विज्ञप्तिमा भनिएको छ, “यो साझा विषय हुन्छ । यसलाई सबैले ग्रहण गर्न सक्छन् । यले तङ्बे÷यलेदोङ÷यलम्बर संवत पनि साझा हो । यसलाई राष्ट्रिय सम्वतको रुपमा घोषणा गरियोस् । नेपालको संस्थापक राजाको रुपमा यलम्बरलाई मानिएको प्रमाणित इतिहास छ । उहाँ स्मृतिमा चलेको सम्वत् नै यलम्बर वा यलदोङ÷यले तङ्बे हो । यसलाई मान्नु भनेको यो राष्ट्रकै सम्मान हो ।”

कलाकार सङ्घका अनुसार किराती सभ्यताको गर्भभित्र हुर्किएको विविध सँस्कृतिमध्ये यले तङबे÷यलदोङ (यलम्बर सम्वत) एक प्राचीन सँवत् हो । यलदोङ (यलम्बर सम्वत)लाई राष्ट्रिय सम्वत घोषणा गर्नुपर्ने सन्दर्भमा कलाकार सङ्घले यलदोङ÷यले तङबे÷यल सम्वतको नामाकरण, यलम्बर सम्वतको ऐतिहासिकता, सङ्घको धाराणा तथा स्पष्टीकरण सार्वजनिक गरेको छ ।

यसैबीच, आगामी माघ–१ गतेबाट यलदोङ (यलम्बर सम्वत) ५०८४ शुरु हुँदैछ । किरात राई साँस्कृतिक कलाकार सङ्घ केन्द्रीय कार्यसमितिले आगामी माघ १ गते किराती नयाँ वर्षको उपलक्ष्यमा भव्य रुपमा यलम्बर जयन्ति मनाउने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

नयाँ यलदोङ (यलम्बर सम्वत)को अवसरमा ललितपुरको नखिपोट खेलमैदानमा उपत्यका केन्द्रीत किराती नयाँ वर्ष यलदुङको कार्यक्रम हुने सङ्घका महासचिव पदम थुलुङले जानकारी दिनुभएको छ । उपत्यका बाहिर उदयपुरको चौदण्डीगढी, धनकुटाको मदनचोक, सुनसरीको धरान, झापा, मोरङ तथा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा पनि किरात राई साँस्कृतिक कलाकार सङ्घका जिल्ला शाखाले पुस–२९ र माघ–१ गते यलम्बर जयन्ति मनाउने जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया