खोटाङ, २९ पुस । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले स्थायी घर भएका लेखक तथा साहित्यकार टंक भट्टराई हाल ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ । लेखक तथा साहित्यकार भट्टराईले आफ्नो जन्मथलो खोटाङ आएको मौका पारेर शनिबार दिक्तेलमा ‘ठाँटीको घाम’ नामक उपन्यासलाई चिनारी गराउन अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुभयो ।
ताप्लेजुङमै एक कार्यक्रमगरी गत असोज–२८ गते विमोचन गरिएको नेपाल सरकारका उपसचिव एवम् लेखक तथा साहित्यकार भट्टराई २४५ पेज लामो उपन्यासमा ५३ वटा फरकफरक स्वादका विषयवस्तु समेटिएका छन् । लेखक तथा साहित्यकार भट्टराईले आफ्नो पुस्तक ‘ठाँटीको घाम’भित्र ‘रमितेखोलो, गोठाला, झाँक्री पहरो, अधुरो, सिक्किमे पिरती, बजूका कथा, धामीको भर, शिक्षाको झिल्को, अँध्यारो बाटो, लाहुरतिर, चिठीचपेटो, ठाँटी चौतारो, बाँसमा खोपेको मायाँ’ लगायतका खण्डभित्र आफ्नै गाउँठाउँको सामाजिक परिवेशलाई यथार्थ रुपमा चित्रण गर्नुभएको छ ।
लेखक तथा साहित्यकार भट्टराईद्धारा लिखित उपन्यासमा गाउँघरको विषयवस्तु र पात्रलाई फूलको मालासरी उनेको पाइएको खोटाङका वरिष्ठ पत्रकार कृष्ण आचार्यले समिक्षा गर्नुभएको छ । सोलुसन ग्राफिक डिजाइन, बागबजार काठमाडौँबाट मुद्रित पुस्तक ‘ठाँटीको घाम’को प्रकाशन रत्न पुस्तक भण्डार, काठमाडौँले गरेको हो ।
राष्ट्रिय वाङ्मय कला प्रतिष्ठान खोटाङका अध्यक्ष विष्णु आभूषणको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक डा. धनप्रसाद सुवेदीलाई प्रमुख आतिथि बनाइएको थियो । खेलक तथा साहित्यकार भट्टराईको तेस्रो कृति ‘ठाँटीको घाम’को विषयमा प्राध्यापक डा. सुवेदी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई, निमित्त प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, साहित्यिक श्रष्टा टंक थापा, राजनीतिकर्मी प्रकाश श्रेष्ठ, शिक्षक धनीराम राई, नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्री लगायतले धारणा राखेका थिए ।
जनताका सेवासँगै आफ्नो लेखन यात्रालाई निरन्तरता दिइरहनुभएका लेखक तथा साहित्यकार भट्टराईका यसअघि ‘साँझमा पहिलो तारा’–२०६७ कविता सङ्ग्रह र ‘म पनि बग्दैछु साप्सु’–२०७३ कथा सङ्ग्रह प्रकाशित छन् । उपन्यास ‘ठाँटीको घाम’को विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उपस्थित जिल्ला तथा राष्ट्रियस्तरका श्रष्टाहरुले आ–आफ्नो सिर्जना वाचन गर्दै सुनाएका थिए ।
लेखक तथा साहित्यकार भट्टराईद्धारा लिखित उपन्यास ‘ठाँटीको घाम’ बजारमा निक्कै रुचाइएको पाइएको छ । गाउँले परिवेशमा आधारित उपन्यास ‘ठाँटीको घाम’ देशभर रत्न पुस्तक भण्डारको डिलर रहेको पुस्तक पसलहरुमा उपलब्ध रहेको लेखक तथा साहित्यकार भट्टराईले जानकारी दिनुभएको छ ।