खोटाङ, १ माघ । किराँत यले सम्बत् अर्थात यलेदुङ ५०८४ को उपलक्ष्यमा खोटाङको दिक्तेलमा आयोजित धनुषवाण (आर्चरी) प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका पर्शुराम राई प्रथम हुनुभएको छ । किराँत गणराज्य मोर्चा खोटाङले सोमबार दिक्तेलस्थित हेलिप्याडमा आयोजना गरेको धनुषवाण प्रतियोगितामा सहभागी ५४ जना प्रतिस्पर्धीलाई पछि पार्दै राई प्रथम हुनुभएको हो ।
जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका सुमन राई दोस्रो र सोही नगरपालिकाको वडा नं. १४ बुइपाका राजकुमार राई तेस्रो हुनुभएको छ । प्रदेश नं. १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समिति खोटाङ र संयुक्त सङ्घर्ष समिति युवा परिचालन समिति खोटाङको सहकार्यमा आयोजित प्रतियोगितामा विजयी खेलाडीलाई क्रमशः नगद रु पाँच हजार, रु तीन हजार र रु दुई हजार पुस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई पूर्वपर्यटनमन्त्री गोपाल किराँतीले पुरस्कार हस्तान्तरण गर्नुभएको छ । धनुषवाण प्रतियोगिता समापनको अवसरमा यले सम्बत् ५०८४ को शुभकामना आदानप्रदानसमेत गरिएको आयोजकले जनाएको छ ।
यसैबीच, किरात राई साँस्कृतिक कलाकार सङ्घ केन्द्रीय कार्यसमितिले यलेदोङ (यलम्बर सम्बत)लाई राष्ट्रिय सम्बत घोषणा गरी लागू गर्न नेपाल सरकार समक्ष माग गरेको छ । कलाकार सङ्घले नेपाल देशको संस्थापक राजा यलम्बरको स्मृतिमा चलेको सम्बत यलदोङ (यलम्बर सम्बत)लाई राष्ट्रिय सम्बत घोषणा गरी लागू गर्न विज्ञप्तिमार्फत सरकार समक्ष माग गरेको हो ।
लिच्छवि कालभन्दा अगाडि ३२ पुस्ता शासन गरेका किरातीका प्रथम राजा यलम्बरको स्मृतिमा स्थापित यलदोङ÷यले तङबे÷यलम्बर सम्बतलाई राज्यले राष्ट्रिय सम्वत घोषणा गरी लागू गर्नुपर्ने कलाकार सङ्घका केन्द्रीय अध्यक्ष शालिक शातासक राईले बताउनुभएको छ । प्रथम किरात हाङ (राजा) यलम्बरलाई आधुनिक नेपालको संस्थापक राजाका रुपमा लिने गरिएको छ ।
नयाँ यलेदोङ (यलम्बर सम्बत)को अवसरमा ललितपुरको नखिपोट खेलमैदानमा उपत्यका केन्द्रीत किराती नयाँ वर्ष यलेदुङको कार्यक्रम आयोजना गरिएको कलाकार सङ्घका महासचिव पदम थुलुङले जानकारी दिनुभएको छ । उपत्यका बाहिर उदयपुरको चौदण्डीगढी, धनकुटाको मदनचोक, सुनसरीको धरान, झापा, मोरङ तथा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा पनि किरात राई साँस्कृतिक कलाकार सङ्घका जिल्ला शाखाहरुले विभिन्न कार्यक्रमगरी यलम्बर जयन्ति मनाइरहेको जनाइएको छ ।