खोटाङ, ४ माघ । नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) निकट किराती राष्ट्रिय मुक्ति मोर्चा नेपाल खोटाङको संयोजकमा दीपेन थुलुङ चयन हुनुभएको छ । दिलकाजी–ठुलकुमार स्मृति प्रतिष्ठान खोटाङको सभाहल दिक्तेलमा बिहीबार सम्पन्न जिल्ला भेलाले थुलुङको संयोजकत्वमा ५५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समितिको गठन गरेको हो ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य अजम्बर काङमाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले सप्तमणि राईलाई जिल्ला सम्मेलन आयोजक समितिको सदस्य सचिव चयन गरेको छ । ‘मूलुकको अग्रगामी विकास, समृद्धि र समानता आजको आवश्यकता ! इतिहास, सभ्यता र सँस्कृतिको संरक्षण गर्न पहिचानसहितको संघीयता !!’ भन्ने नाराका साथ सम्पन्न भेलाले सर्वसहमत आयोजक समिति चयन गरेको हो ।
भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै नेता काङमाङले वर्तमान राजनीतिक उपलब्धीको पहिलो हिस्सेदार नेकपा (माओवादी केन्द्र) रहेको बताउनुभएको छ । “अहिले पहिचान र सङ्घीयताको मुद्दा उत्तिकै महत्वपूर्ण रहेको छ । किराती राष्ट्रिय मुक्ति मोर्चाले स्थापनाकालदेखि नै पहिचानको पक्षमा निरन्तर सङ्घर्ष गर्दै आएको बताएको हो”, उहाँले भन्नुभयो, “अझ सशक्त आन्दोलनको आवश्यकता परेकाले सबैजना तयार हुनुपर्ने अवस्था आएको छ । कुनै पनि समयमा सशक्त आन्दोलन गर्नुपर्ने हुन्छ । त्यसका लागि तयारी अवस्थामा रहनुहोला ।”
नेकपा (माओवादी केन्द्र) का अर्का केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले पार्टीको नीतिअनुसार जनवर्गीय सङ्गठन तथा मोर्चाहरुको गठन भइरहेको बताउनुभएको छ । पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनबाट पहिचानसहितको सङ्घीयतामा स्पष्ट रहेको पनि उहाँले बताउनुभयो ।
यस्तै, अर्का केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य दुुर्गाजयन्ती राईले मोर्चाहरुलाई अझ सशक्त नबनाएसम्म पहिचान स्थापना हुन नसक्ने बताउनुभएको छ । एक नम्बर प्रदेशलाई पहिचानको आधारमा नामकरण पार्टी तथा जनवर्गीय सङ्गठनहरुको एकमात्र निर्विकल्प आन्दोलन हुने उहाँले बताउनुभएको छ ।
पार्टीका वैकल्पिक केन्द्रीय सदस्य ध्रुव बुढाथोकी ‘धिरेन’ले पहिचानको आन्दोलन पार्टीको आन्दोलन भएको बताउनुभएको छ । किराती राष्ट्रिय मुक्ति मोर्चामात्र होइन समुदायगत सम्पूर्ण मोर्चाहरु पहिचानको पक्षमा उभिनै पर्ने उहाँले बताउनुभयो ।
पार्टीका प्रदेश समिति सदस्य सदस्य टंक थापालगायतले माओवादी आन्दोलनमा जनवर्गीय सङ्गठन र मोर्चाहरुको आवश्यकताका बारेमा प्रस्ट्याउनुभएको छ । किराती राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्याक्ष अशोक राईको उपस्थितिमा सम्पन्न भेलामा पार्टीका नेता तथा जनवर्गीय सङ्गठनका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको थियो ।